बलात्कार र बेचबिखन मुद्दामा धरौटी मात्रै ?


 


(काठमाडौं), (धरान), पुस १७
जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा हनुमान मन्दिर आश्रमका सिद्धबाबा कृष्णबहादुर गिरीलाई कानुनी धरातलबेगर धरौटीमा छाडेको भेटिएको छ । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने दुई फरक प्रमाण हुँदासमेत इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो ।

साधनाका लागि भनेर आश्रममा बोलाएका गिरीले आफूलाई बलात्कार गरेको भनी एक पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यही उजुरीमाथिको अनुसन्धानपछि प्रहरीले दायर गरेको मुद्दाको सुनुवाइपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो तर आदेशका क्रममा लिइएका आधार र व्याख्याले न्यायाधीशलाई नै प्रश्नको घेरामा पारेको छ । अनुसन्धानका दौरान अपराधपीडितलाई संरक्षण गर्नुपर्ने प्रहरीले समेत हैरान पारेको र मुद्दा कमजोर बनाएको प्रमाण कान्तिपुरले फेला पारेको छ ।

‘यो कुरा कसैलाई नभन्नू’
सोलुखुम्बुको साबिक जुबु गाविस स्थायी ठेगाना भएका चतरा बस्ने सिद्धबाबा रामकृष्णाचार्य वैष्णव कृष्णदास भनेर चिनिन्थे । उनले नियमित सम्पर्कमा रहेकी एक भक्तलाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेन्जरमा कल गरे । ती भक्त महिलाले रेस्पोन्स नगरेपछि रोमन अंग्रेजीमा ‘हेलो, मैले मौका दिएका बेलामा चुप किन ?’ भनी कुटीमा बोलाए । साधनाबाट प्राप्त हुने दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गइन् । पीडितको किटानी जाहेरीमा उल्लेख गरेको विवरणअनुसार सिद्धबाबाले आफ्नो कक्षमा लगेर ती महिलालाई ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाई बलात्कार गरे । त्यसपछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नू, भने अनिष्ट हुन्छ’ भनेर फेरि धम्क्याए ।

घटनापछि डरले चुप लागेर बसेकी ती महिला काठमाडौं फर्किइन् । केही सातापछि श्रीमान्ले सिद्धबाबा र उनीबीच भएको म्यासेजको विवरण देखे जहाँ ‘शारीरिक सम्पर्क’ को कुरा उल्लेख थियो । अनि उनले सबै यथार्थ श्रीमान्लाई बताइन् । श्रीमान्को अग्रसरतामा ती महिलाले प्रहरीमा किटानीजाहेरी दिइन् ।

किटानी जाहेरीपछि प्रहरीले सिद्धबाबालाई पक्राउ गरी बयान लियो । आरोप अस्वीकार गर्दै बयानमा उनले भनेका छन्, ‘म त्रिदण्डधारी साधु संन्यासी हुँ । मैले अग्नि र स्त्रीलाई स्पर्शसमेत गर्नु हुँदैन ।’ सिद्धबाबाकै दाबीअनुसार एक वर्षदेखि एकोहोरो म्यासेज गरेको अनि शिष्य र भक्तजनले समेत आग्रह गरेको हुनाले एकपटक फोनमा कुरा गरेका हुन् । भोला बराल भन्ने व्यक्तिको फोनबाट भएको कुराकानीमै सिद्धबाबाले ‘मबाट एक पटक गल्ती भयो, माफ पाऊँ, अब त्यस्तो हुँदैन, भयो भने म लिंग नै काटेर फालिदिन्छु’ भनेका थिए । उक्त कल रेकर्ड सिद्धबाबाकै भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भयो । प्रहरीले बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । त्यही मुद्दामा जिल्ला न्यायाधीश उप्रेतीले सिद्धबाबालाई धरौटीमा छाड्ने विवादास्पद आदेश गरेका हुन् ।

‘अनौठो’ आदेश
अपराधशास्त्रीका अनुसार बलात्कारजस्ता घटनामा अपराधीले अरूले थाहा नपाउने गरी गोप्य स्थान छनोट गरेका हुन्छन् भने सकेसम्म आफूलाई त्यससम्बन्धी प्रमाणबाट अलग गर्छन् । त्यसैले यस्तो घटनामा पीडितलाई नै प्रमाणका रूपमा ग्रहण गरिन्छ र अन्यथा प्रमाणित नभएको अवस्थामा पीडितको भनाइ प्रमुख प्रमाण मानिन्छ । अन्य प्रमाणले समेत घटना पुष्टि गरिसकेको अवस्थामा न्यायाधीश उप्रेतीले धरौटीमा छाडेको आदेशलाई अनौठो रूपमा हेरिएको छ ।

जिल्ला अदालत स्रोतबाट कान्तिपुरलाई प्राप्त मिसिलको फोटोकपीमा उक्त बलात्कारको घटना पुष्टि गर्ने कम्तीमा चार फरक प्रमाण छन् । पीडितले सिद्धबाबाको नाम किटान गरेकी छन् भने अर्कोतर्फ घटना हुनुअघि सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज प्राविधिक परीक्षणबाट पुष्टि भएको छ । पीडित त्यस दिन आश्रम गएको पनि प्राविधिक परीक्षणबाट पुष्टि भएको छ ।

घटनापछि सिद्धबाबाले पीडितलाई फोन गरेर माफी मागेका छन् अनि पीडितले उपलब्ध गराएको उक्त ‘अडियो फाइल’ को आवाज सिद्धबाबाको हो भनी विधिविज्ञान प्रयोगशालाबाट पनि पुष्टि भएको छ । ‘जबर्जस्ती करणीको मुद्दामा आरोपित कुनै न कुनै रूपमा घटनामा संलग्न देखियो भने थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने कानुनी मान्यता छ,’ अधिवक्ता शशि बस्नेतले भनिन्, ‘सुनसरीको घटनामा भने मिसिल हेरेर मात्रै भन्न सकिन्छ ।’

आरोपित सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने न्यायाधीश उप्रेतीले आफैंमा विरोधाभासयुक्त आदेश त दिएका छन् नै, आफैंले ग्रहण गरेको प्रमाण र सूचना पछि खण्डन हुने गरी आदेश पनि लेखेका छन् । सिद्धबाबाका पक्षमा भएका प्रमाण मात्रै मिहिन ढंगले केलाइएको छ । पीडितका पक्षमा हुने खालका प्रमाणको विवेचनामा आदेश ‘मौन’ छ । बयानका क्रममा सिद्धबाबाको घुँडामा दाग देखेको भनी पीडितले दाबी गरेकी छन् । परीक्षणमा उनको घुँडामा दाग भेटिएको थियो तर आदेशले यो तथ्यलाई प्रमाणका रूपमा लिएन ।

सिद्धबाबालाई धरौटीमा छाड्न भनी गरिएको आदेशमा ‘मुद्दाको पुर्पक्ष गर्न सिद्धबाबालाई थुनामै राखी कारबाही गर्नुको औचित्य नरहेको’ भन्ने निष्कर्ष छ । त्यसको आधारबारे आदेशमा भनिएको छ, ‘आसक्तिपूर्ण प्रेम रसका म्यासेजहरू देखिएको र ती अन्यथा हुन नसकेको परिवेश रहेको ।’ यो आदेश हेरेका उच्च अदालतका एक न्यायाधीशका भनाइमा, प्रेमालापयुक्त संवाद भएको रहेछ भने पनि बलात्कार नितान्त फरक कुरा हो । ‘वैवाहिक बलात्कार त कसुर हुन्छ । प्रेम नै भएको रहेछ भने बलात्कार गर्न पाइन्छ ?’ ती न्यायाधीशले भने, ‘अनि प्रेम गरेको म्यासेज देखाएर बलात्कारीलाई धरौटीमा छाड्न मिल्छ ?’

सिद्धबाबाले घटनापछि आफ्ना भक्त भोला बरालको फोनबाट एक घण्टा २० मिनेट पीडितसँग कुराकानी गरेका थिए । उनले कुराकानीका क्रममा क्षमायाचना गरेको अडियो रेकर्डबारे पछि बयानमा आफ्नो होइन भनेका छन् तर अन्य सवालजवाफमा ‘आफूले धर्म रक्षाका लागि साधकहरूको अनुरोधमा भावविह्वल भई पीडितसँग माफी मागेको’ स्विकारेका छन् । इन्कारी बयानलाई नोटिसमा लिएका न्यायाधीशले अन्यत्र त्यसको खण्डन भएको तथ्य नजरअन्दाज गरेका छन् । ‘प्रतिवादी निर्दोष रहेछन् भनी मान्न मिल्ने अवस्था पनि नदेखिएपछि आरोपितलाई धरौटीमा छाड्ने आदेश गलत हो,’ एक वरिष्ठ अधिवक्ताले कान्तिपुरसित भने, ‘आदेश हेर्दा इजलास प्रभावित भएको देखिन्छ ।’

अनुसन्धान नै प्रभावित
पीडितको दाबीअनुसार अनुसन्धान अधिकृत डीएसपी विनोद शर्माले किटानी जाहेरी पर्नासाथ मिलापत्रका लागि दबाब दिएका थिए । उनले बारम्बार दुवै पक्ष बसेर केस अघि नबढाउन लबिङ गरिरहेका थिए । अनुसन्धानका दौरान घटनास्थल लैजाने क्रममा सुनसरीका एसपी यज्ञविनोद पोखरेलले आफूलाई एकान्तमा लगेर घटनाबारे मिहिन रूपमा बयान गर्न लगाएको पीडितको भनाइ छ । उनले कान्तिपुरसित भनिन्, ‘के के भएको हो, सबै भन्नुस् भनेर उहाँ एक्लैले सोध्दा मलाई निकै अप्ठेरो भयो ।’ तर एसपी पोखरेलले आफूले एक्लै नभेटेको र नसोधेको दाबी गरे । अनुसन्धान अधिकृत शर्मा भने कान्तिपुरको बारम्बारको आग्रहका बाबजुद सम्पर्कमा आउन चाहेनन् ।

अनुसन्धान अधिकृत शर्माले अनुसन्धानका दौरान करिब २४ जनासँग मौकाको कागज गराएका छन्, जसले सिद्धबाबाको पक्ष लिएर घटना भएको होइन भन्ने तथ्य स्थापित गर्न बल पुर्‍याएको देखिन्छ । कान्तिपुरसँग एसपी पोखरेलले पीडितले नाम लिएका व्यक्तिहरूसँग सोधपुछ गर्नु अनिवार्य भएको प्रतिक्रिया दिए । ‘पीडितले नै यो यो व्यक्ति छन् भनेपछि हामीले सोध्नुपरेन ?’ उनले भने, ‘यस्तो गम्भीर मुद्दामा समेत प्रहरीको अनुसन्धानमा शंका गरिदिएपछिहामी के आधारले अघि बढ्ने ?’

सिद्धबाबालाई जोगाउन अनुसन्धानदेखि नै चलाखी गरिएको छ । मौकामा कागज गरिएका सुरक्षागार्ड भनिने मुकेश साह त्यसका उदाहरण हुन् । पीडितको दाबीअनुसार सिद्धबाबाले बोलाएको दिन उनी आश्रममा पुग्दा कोही थिएनन् तर पछि सिद्धबाबाले मुकेश साहलाई सुरक्षा गार्डका रूपमा प्रस्तुत गरे । घटना भएको रात आश्रममा गार्ड बसेको दाबी गर्ने साहले ‘त्यो दिन गुरु सुतेपछि मूल गेटको ताला लगाएर साथैमा चाबी राखेर खाटमा पल्टिएको’ बयान दिएका छन् । सोधपुछका दौरान उभ्याइएका सबैजसोले पीडितलाई दोष दिएका छन् । सिद्धबाबाका पक्षमा उभिएका उनीहरूले पीडितलाई ‘दिमागी रूपमा बिरामी भएको’ आरोप लगाएका छन् जसलाई आरोपपत्रमा महत्त्वका साथ समावेश गरिएको छ ।

आफूलाई चार्टर एकाउन्टेन्ट दाबी गर्ने प्रशान्त अधिकारी पनि सिद्धबाबाको आश्रममा सेवक बनी बसेका थिए । प्रहरीले मुद्दा कमजोर बनाउन उभ्याएका अधिकारीले बयानमा दीक्षा लिन उपस्थित नभएको देखेर ‘मैले मौका दिएका बेला चुप किन’ भनी आफूले म्यासेज पठाएको जवाफ दिएका थिए । ‘बारम्बार फोन गरेकाले कहिलेकाहीँ लाइकलगायतका स्टिकर पठाउने गरेको थिएँ’ भन्ने अधिकारीको ‘मौकाको कागज’ आरोपपत्रमा पेस गर्नुको अर्थ सिद्धबाबाले नभई सेवकले मोबाइल चलाएको भनी तथ्यलाई उल्ट्याउन खोजिएको थियो । एसपी पोखरेलले अनुसन्धान कमजोर नभएको दाबी गरे । उनले भने, ‘जे भएको हो, त्यही तथ्य आरोपपत्रमा लगेका छौं । परेको जिम्मा लिन्छौं ।’कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १७ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्