विराटनगरका सुवोध बेपत्ता भएको २२ वर्षपछि घर फर्किए


 


विराटनगर, भदौ ३

विराटनगर महानगरपालिका – १ पोखरिया घर भएका ३० वर्षीय सुवोध विश्वकर्मा बेपत्ता भएको २२ वर्षपछि घर फर्कनु भएको छ । ८ वर्षको उमेरमा घरबाट हिंड्नु भएका उहाँ २ वर्षकी छोरी र पत्नीलाई साथमै लिएर घर फर्किएपछि परिवारमा खुसी छाएको छ ।

कहाँबाट कहाँ हिंडे भन्ने कुराको कुनै भेउ नपाउने उमेरमा घर छाड्नु भएका उहाँलाई प्रविधिको विकास र प्रयोगले घर सम्म ल्याइपुर्याउन मद्धत गर्यो । हराएपछि नेपाल र भारतका विभिन्न ठाउँमा खोजी गर्दा पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तित बनेका थिए । आमा बुचुनीदेवीले घर छाडेको लामो समयपछि छोरो फर्किएकोमा खुसी व्यक्त गर्नु भयो ।

छिमेकी सुनिता घिमिरेको सहयोगमा छोरा घर फर्किएको उहाँको भनाइ छ । सुनिताकै कारण सुवोधसंग परिवारको पुर्नमिलन सम्भव भएको हो । घरबाट बालक हराएको बारेमा सुनिता जानकार हुनु हुन्थ्यो । उहाँले नै भारतको बाबाधामस्थित बासुकीनाथ जाने क्रममा सुवोधलाई भेटेपछि सबै कुरा बुझेर घर फर्काउन ठूलो सहयोग गरेको बुचुनीदेवीको भनाइ छ ।

बाबाधाम आसपासमा टेम्पो चलाएर गुजारा गर्दै आउनु भएका उहाँकै टेम्पोमा तीर्थयात्राका क्रममा चढ्नु भएकी सुनिताले दुई जनाबीच कुराकानी हुँदै जाँदा सानैमा घरबाट हिंडेका बालक सुवोध नै भएको पत्ता लगाउनु भयो । उहाँका अनुसार पछि सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा सुवोधले आमालाई चिनेपछि घर फर्कन सजिलो भयो । सुवोध गत शुक्रबार घर फर्कनु भएको हो । उहाँ घर फर्किएपछि परिवारमा खुसी छाएको छ । सुवोधले अव आफू नेपालमै बसेर केही गर्ने बताउनु भयो ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्