भारतीय सेना प्रमुखको वक्तव्यबारे नेपाल सरकारले लिदैँछ यस्ताे एक्सन


 


काठमाडौं, जेठ ४
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले दिएको वक्तव्यबारे सरकारले आफ्नो तवरले अध्ययन गरिरहेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेना प्रमुखको भनाइबारे सरकारले आफ्नो कूटनीतिक च्यानलमार्फत् बुझिरहेको बताए ।

भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडकसमेत निर्माण गरिसकेको अवस्था रहेकाले त्यस विषयलाई समाधान गर्न नेपालले दुईपक्षीय वार्तामा ध्यान दिएको बताए । भारतका विभिन्न अधिकारीको सार्वजनिक धारणाबारे भने अहिले अध्ययन भइरहेको पनि उनले स्पष्ट पारे । 

भारतीय सेना प्रमुख नरवणेले शुक्रबार सुरक्षासम्बन्धी एक भिडियो कन्फरेन्समा नेपालले अरू कसैको इसारामा पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए । उनले त्यहाँ कुनै विवाद नरहेको समेत बताएका थिए ।

भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिबारे नेपाली सेनाले पनि आवश्यकताअनुरूप प्रस्ट र जिम्मेवार ढंगबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जनाइसकेको छ । भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ हुने हुनाले सेनाको धारणा पनि उपयुक्त देखिएकाले यस विषयमा सेनाले छलफल गरिरहेको अधिकारीहरूले बताए ।

सत्तारुढ नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबारे भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन् ।

प्रवक्ता श्रेष्ठले शनिबार ट्वीट गर्दै भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रूपमा सडक बनाएको विषयमा नेपालको विरोधमा भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति आपत्तिजनक भएकाले तत्काल सच्याउन आवश्यक रहेको बताए ।

नेपाली भूमि भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रूपमा सडक बनाएको विषयमा नेपालबाट भइरहेको विरोधलाई भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको विषय बाहिर कुरा उठे पनि सरकारले यसमा कुनै प्रतिक्रिया दिएको छैन ।

सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा नेपालले आफ्नै पक्षमा खडा रहेको र नेपालको पक्षमा कसैले उभिन नपर्ने भन्दै श्रेष्ठले सेना प्रमुख नरवणेले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताए । अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्