मौकोकोको ‘डेब्यु’ गोल तर डर्टमुन्डको हार


 


एजेन्सी, पाैष ४
यौस्सोफा मौकोको बोरुसिया डर्टमुन्डको सिनियर टोलीबाट ‘डेब्यु’ गोल गरेका छन् । मौकोको जर्मन बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्दा बोरुसिया डर्टमुन्डले युनियन बर्लिनसँग २–१ को हार बेहोरेको छ ।

मौकोकोले डर्टमुन्डको सिनियर टोलीबाट पहिलो गोल गरेका हुन् । यससँगै उनी बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १६ वर्ष २८ दिनको उमेरमा बुन्डेसलिगामा गोल गरेका हुन् ।

१६ वर्षको उमेरमा २२ नोभेम्वर २०२० उनले हर्था बर्लिनमाथि ५–२ को जित निकालेको खेलमा डेब्यु गर्दै बुन्डेस लिगाकै कान्छा खेलाडी बनेका थिए । उनले बुन्डेसलिगामा ६ खेल र च्याम्पियन्स लिगमा एक खेल खेलेका छन् । उनी च्याम्पियन्स लिग खेल्ने कान्छा खेलाडी समेत हुन् ।

बर्लिनमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको ५७औं मिनेटमा ताइओ एओनीयीको गोलबाट अग्रता लिएको थियो । पहिलोपटक पहिलो रोजाईमा मौका पाएका मौकोकोले ६०औं मिनेटमा राफायल गुरेइरोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

७८औं मिनेटमा मार्भिन फ्रेडरिचले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । खेलमा पछि परेपछि डर्टमुन्डले बल पोसेसनमा पकड बनाउदै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा डर्टमुन्डले हार बेहोर्न बाध्य बन्यो ।

यो हारसँगै डर्टमुन्डले शीर्ष टोलीसँगको अंक दुरी छोट्याउने अवसर गुमाउँदा २२ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको बायर लिभरकुसनको २८ तथा दोस्रो र तेस्रो स्थानको बायर्न म्युनिख र आरबी लाइप्जिगको समान २७ अंक छ ।

यद्दपि यि शीर्ष टोलीले एक खेल कम खेलेका छन् । डर्टमुन्डलाई हराएको युनियन बर्लिन २१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: ४ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्