क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने


 


काठमाडौं, जेठ १६
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ पेसी तोकिएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धि प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो ।

न्यायाधीश पराजुलीको इजलासले पीडितको जन्मदर्ता रहेको नुवाकोटको एउटा वडाले पठाएको पत्र स्पष्ट नभएकाले फेरि अर्को पत्र ल्याउन आदेश दिएको थियो ।

जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । सन्दीपका कानून व्यवसायी सरोजकृष्ण घिमिरे पीडित पक्षले पटक–पटक मुद्दाको सुनुवाइमा ढिलाइ गरेको बताउँछन् ।

यसअघि ५ पटक तोकिएको पेशीमा लगातार सुनवाई स्थगित भएपछि सन्दीप निराश बनिरहेका छन् । मंगलबारको पेशी पनि स्थगित भए सन्दीप दक्षिण अफ्रिका नजाने मनस्थितिमा छन् ।

गत वर्ष भदौ ५ गते पटकपटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्