प्रदेश ५ को हिउँदे अधिवेशन आजदेखि, टुंगिएला नाम र राजधानी ?


 



बुटवल, माघ ५
प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । मख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजदेखि हिउँदे अधिवेशन बोलाइएको हो । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आइतबार आह्वान गरिएको हिउँदे अधिवेशनको पहिलो दिन शुभकामना मन्तव्य राख्ने कार्यतालिका रहेको छ । संसद्मा प्रस्तुत हुने एजेन्डाबारे भने कार्यपरामर्श समितिले निर्णय गर्ने सचिवालयले जनाएको छ । यसअघि संसद बैठक जेठ २ गते सुरु भएर असोज २ मा बजेट अधिवेशन सकिएको थियो ।

हिउँदे अधिवेशनमा अब प्रदेशको नाम र राजधानीको विषय टुंगाउने कसरत हुनेछ ।
हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए । प्रदेशसभा नै यसको निर्णायक केन्द्र भएको भन्दै सबैको सहमतिबाट यसबारे निर्णय हुने जानकारी दिए ।

हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामले प्रवेश पाउने भएपछि यसबारे बहस सुरु भएको छ । प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १÷१ गरी कुल ८७ सांसद् छन् । देशका सात प्रदेशमध्ये चार वटाले नाम र राजधानी टुंगो लगाइसकेका छन् । तर प्रदेश १ र २ सँगै ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन ।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्