जोखिममा भोजपुर सदरमुकाम


 


bhukampale ghar 1 - Copy

ध्रुव सुवेदी
भोजपुर, जेठ १९
लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको छ । घरहरु भत्केका, चिरिएका, बागिंएका, ढल्किएका अनि छियाछिया भएका छन् ।

अधिकांश कच्चि घरहरु भएको भोजपुर सदरमुकाम भुकम्पले थिलथिलो भएपछि सदरमुकाम नै जोखिममा परेको हो । उत्तरमा पानीट्यांकी, दक्षिणमा विद्योदय उच्च मावि, पूर्वमा पोखरे र पश्चिममा कोदार र देउरालीबाट शुरु हुने भोजपुर सदरमुकाम डाडाँमा लमतन्न छ । थोरै मात्रामा घर ध्वस्त भए पनि अधिकांश घरहरु बस्न नमिल्ने गरी चर्किएका छन् ।
दुईतिर मुखामुख फर्केर बनेको भोजपुर सदरमुकामको यतिबेला रंग उडेको छ । जसले बजार कुरुप देखिन्छ । बजारको तल्लो छेउ जिरो प्वाइन्टमा घर ध्वस्त भएको छ भने छेउमा रहेको घरको एकतला भत्केको छ, बाँकी लड्नलाई तयार छ । छेउछाउका घरहरु चिराचिरा हुने गरी चर्केका छन्, जहाँ मानिसहरु घर छाडेर बाहिर नै बस्छन् ।

त्यो ठाउँदेखी १५ मिटर माथि घरहरु पुरै ढल्किएका छन् । लड्नलाई तम्तयार भएर बसे झैं । त्यही छेउमा अर्काे घर लडेको छ । अलिक मास्तिर बैंक रोड छेउमा अर्काे घर लड्न तयार छ, छेउछाउका घरहरु चिराचिरा परेका छन् ।
टुडिँखेल छेउमा रहेको जिविसको सामुदायिक भवन ढलेको छ । आसपासका घरहरु भत्केका छन्, यहाँका मानिसहरु सुरक्षित कोठामा स्थानान्तरण भइसकेका छन् । बाँकी घरहरु चर्केका छन्, बस्न मिल्ने र कतिपय बस्न नमिल्ने गरी । जिल्ला प्रहरी कार्यालयमा आशिंक क्षति पुगेको छ गेट छेउमै रहेको जिल्ला अदालत चर्केको छ, आशिंक क्षति हुने गरेर ।

प्रहरीको गेट पश्चिममा अधिकांश घरहरु बस्न नमिल्ने गरी चर्केका छन् । भिमसेन मन्दिर छेउका घरहरु लड्नलाई तयार भएपछि यहाँका स्थानीयले घर छाडेको महिन दिन बित्यो ।

सदरमुकामका कच्चि घरहरु कुनै त्यस्ता छैनन्, जुन चर्कका र नभत्केका हुन् । पोखरे लाइनको अवस्था पनि त्यस्तै छ, भोटेपसलको हालत यो भन्दा फरक छैन् । यहाँका कतिपय कच्चि घरहरुले ९० सालको भुँइचालो भेटेका छन् भने अधिकांश ०४५ सालको भुँइचालो थामेका छन् । माथिल्लो बजारमा ०४५ पछाडी बनेका थोरै घरहरु छन् भने डाँडाँगाउँ आसपासको क्षेत्र ०४५ पछाडी बनेको बजार हो । पछि बनेका घरहरुले पनि ०६८ को भुइँचालो खेपेका छन् ।

भोजपुर बजार चर्चित र पुरानो भए पनि यहाँ यतिबेला पनि औलामा गन्न सकिने सिमित घरहरु मात्र पक्कि बनेका छन् । सदरमुकाममा कच्चि र पुराना घरहरुको बाहुल्यता हुँदा धेरै मात्रामा क्षति पुगेको हो ।
वरिपरी र चारैतिर रहेका घरहरु भत्किदा र चर्किदा सदरमुकाम दिनानुदिन जोखिममा पर्दे जान थालेको छ । यी चर्केका घरहरु सानातिना पराकम्पनले पनि ढल्ने अवस्थामा पुगेका छन् । दुईतिर घरहरु हुँदा साघुँरो बाटो रहेको भोजपुरमा हिँडहुल गर्नमा नै समस्या हुन थालेको छ । यही ठाउँ हुँदै दिनहुँ बटुवा तथा सयौं विद्यार्थी ओहोरदोहोर गर्छन् ।

भत्किन लागेका घरहरु कतिबेला ढल्ने हुन् टुंगो छैन्, भोजपुर बहुमुखी क्याम्पस भुगोल विषयका शिक्षण सहायक भुमिकुमार नेपाल भन्छन्, यही बाटो हुँदै सयौं विद्यार्थी र सर्वसाधारण हिँडडुल गर्नुपर्छ, यसले थप जोखिम बढाएको छ । जिल्ला दैविक प्रकोप उद्धार समितको तथ्यांकमा भोजपुर नगरपालिका क्षेत्रमा मात्रै छ सय ४६ वटा घरहरु पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् भने ११ सयको हाराहारीमा आशिंक क्षति पुगेको छ ।
लड्न लागेका घर स्थानीयले नभत्काउँदा समस्या बढेर गएको हो । नगरपालिकाले लड्न लागेका घरका धनीलाई घर भत्काउन अनुरोध गरे पनि स्थानीयले यस्ता घर भत्काएका छैनन् । बरु उनिहरु खुल्ला र सुरक्षित ठाउँमै बस्दै आएका छन् । घरहरु बस्न मिल्ने र नमिल्ने पहिचान भइसकेको छ, भोजपुर नगरपालिकाका कार्यकारी अधिकृत तुलाराज थापा मगर भन्छन्, जोखिममा रहेको घर स्थानीयले भत्काएका छैनन् र भत्काउनका लागि अनुरोध गरेका पनि छैनन् ।

घर भत्काउन सक्नेले आफै भत्काउने हो, नसक्दा हामी सहयोग गर्छाै, थापा मगरले भने । जोखिममा रहेका घरहरु भत्काएर जोखिम न्यूनिकरण गर्न सर्वसाधारणका माग छ । सदरमुकामका घरहरु जोखिमपूर्ण भएपछि महिना दिनदेखी सर्वसाधारणको चहलपहल कम छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्