दुःखमा नेपालको साथ पाएपछि चीन नतमस्तक, भावुक हुँदै राजदूतले के भनिन् ?


 


काठमाडौं । कोरोना भाइरसको संक्रमणसँग लडिरहेको चीनले नेपालको साथ र सहयोगको प्रशंसा गरेको छ । खासगरी नेपाली नागरिकबाट सदभाव र शुभेच्छा देखेपछि चिनियाँ राजदूत भावकु नै बनिन् ।

चीनलाई सान्त्वना दिने तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बुधबार राष्ट्रियसभा गृहमा ‘हामी साथ छौं’ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भूमीसुधारमन्त्री पद्मा अर्याल, नेपालका लागि चीनका राजदूत होउ यान्छी, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, नेकपाका नेताहरु आनन्द पोखरेल, यज्ञराज सुनुवारलगायत सहभागी थिए ।

उक्त कार्यक्रममा नेपालीले देखाएको सद्भावले चिनियाँ राजदूतलाई भावुक बनायो । सम्बोधनका क्रममा राजदूत होउ यान्छीले कोरोना भाइरसविरुद्धको चीनको लडाईमा नेपालले गरेको सहयोगको सह्राना गरिन् । उनले भनिन्ः नेपाल र चीन सुख, दुःखका साथी हुन् ।

नेपाल र चीन छिमेकी मात्र नभएर दाजुभाइ भएको र असल मित्र अप्ठ्यारोमा मात्र चिनिने राजदूत यान्छीको भनाइ थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइरस नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताइन् ।

उनले चीनले महामारीसँग लड्दै आएको र यसलाई छिट्टै जित्ने र त्यसका लागि हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको बताउँदै नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्मरण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताइन् ।

यस बाहेक चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै नेपाल ल्याउन सरकारले तयारी तीव्र बनाएको उनको भनाइ थियो ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्