भ्रष्टाचारी अभियुक्त विजय गच्छदारलाई पक्राउ गर्ने तयारी


 


काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पक्राउ गर्ने तयारी गरिएको छ । उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी मुद्दा दर्ता भएसँगै पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । गच्छदारसहित १ सय ७५ जनाविरुद्ध सिआईबीमा मुद्दा दर्ता भएको हो ।

ललिता निवास जग्गा प्रकरणमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधानमन्त्री गच्छदारसहित १ सय ७५ जनाविरुद्ध किर्ते र ठगीको आरोप लगाउँदै सीआईबीमा किटानी जाहेरी दिएको थियो । यो जाहेरी शुक्रबार दर्ता भएसँगै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीका लागि बाटो खुलेको हो । ठगी र किर्ते गरेको जाहेरी परेपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान गर्न सक्छ ।

सीआईबीले यसअघि नै १ सय ३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १ सय ७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरिसकेको छ ।

जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार निवारण ऐनअन्तर्गत करोडौं विगो र सजाय माजसहित मुद्दा दायरको गरेको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्