स्ववियु चुनाव फेरि सर्यो


 



काठमाडौं, फागुन ७
फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव फेरि सरेको छ। त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि चुनावको मिति सारेको जनाएको हो ।

नयाँ सूचना सार्वजनिक नहुँदासम्मका लागि अनिश्चित कालका लागि चुनाव स्थगित भएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरले बताए ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थीसँग त्रिवि समितिबीच फागुनभित्रै चुनाव गर्ने सहमति पुस २० गते भएको थियो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो। त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्म मात्र थप गरिएको छ।

२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविमा ६२ वटा आंगिक तथा एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्। सम्बन्धन प्राप्तमध्ये पचास प्रतिशतभन्दा बढी क्याम्पसमा चुनाव भएको छैन। आंगिकमध्ये केहि क्याम्पसमा २०७३ सालमा पनि चुनाव भएको थिएन।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्