नेपाललाई कोरोनामुक्त घोषणा गरिदै, देश-बिदेशमा पनि प्रचारप्रसार गरिने


 



काठमाडौं, फागुन ७
 सरकारले नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र (कोरोना भाइरस फ्री जोन) घोषणा गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा मन्त्रालयले कोरोना भाइरसमुक्त रहेको प्रचारात्मक सन्देश प्रवाह गर्न लागेको हो। मन्त्रालयले अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा कोरोना भाइरसमुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्नेछ।

मन्त्रालयका अनुसार चिनियाँ पर्यटकका लागि नेपाल सुरक्षित रहेको सन्देशमूलक सामग्री पठाइनेछ। सात दिनभित्र चिनियाँ सञ्चारमाध्यम र नेपाली नियोगमार्फत सामग्री पठाइने मन्त्रालयले जनाएको छ।

प्रचारात्मक सामग्री मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष, २०२० को सचिवालय, पर्यटन सम्बद्ध निजी क्षेत्रका वेबसाइट तथा सामाजिक सञ्जालमा राखिनेछ।

चिनियाँ पर्यटक चाइना साउदर्न र हिमालय एयरलाइन्सको उडानबाट सातामा १ सय हाराहारीमा नेपाल आइरहेका छन्। नेपाल भित्रने पर्यटकमा चिनियाँ दोस्रोमा पर्छन्। सन् १९९९ मा १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँ नेपाल आएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार पर्यटकको संख्यामा कमी आएपछि उडान प्रभावित भएको छ। तिब्बती एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना स्टर्न, चाइना साउदर्न, एयर चाइना र हिमालय एयरलाइन्सले उडान कटौती गरेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय आवागमन एवं व्यापारमा कुनै अंकुश लगाउनुपर्ने अवस्था नआएको स्पष्ट पारेको छ। मन्त्रालयमा मंगलबार आयोजित छलफलमा मन्त्री भट्टराईले तीन दिनभित्र सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्री तयार गरी सम्प्रेषित गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्