मेयरको निर्देशनमा छोराको अपहरण प्रयास, बाबु सौचालयमा थुनिए


 



बारा, फागुन १०
बाराको महागढीर्माइ नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादको निर्देशनमा अपहरण गर्ने प्रयास गरिएको भन्दै आठ जनाविरुद्ध उजुरी परेको छ । भिडियो खिचेको निहुँमा मेयरको निर्देशनमा कुटपिट र अपहरण प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा आठ जनाविरुद्ध उजुरी परेको हो।

महागढीमाई नगरपालिका २ बरियारपुर महेन्द्र भनेर चिनिने हरेन्द्र महतोले आफ्ना छोरा मुकेशलाई बिहीबार साँझ स्थानीय बरियारपुर बजारमा पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दै अपहरण गर्ने प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएको हुन् ।

उनले नगरप्रहरी र मेयरका केही आफन्तविरुद्ध जाहेरी दिइएको पीडितले जानकारी दिए । बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले घटनाबारे अध्ययन÷अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने बताए ।

आफूलाई शौचालयमा थुनेर दुर्व्यवहार गरेको भन्दै हरेन्द्रले बिहीबार मात्रै महागढीमाई नगरपालिकाका मेयर यादवविरुद्ध भेदभाव तथा अपमानजन्य व्यववहारसम्बन्धी जाहेरी दिएका छन्।

गत सोमबार स्थानीय निर्माणाधीन अधुरो नाला निरीक्षण क्रममा मुकेशले मेयर यादवको प्रतिक्रियासहितको भिडियो खिच्न खोजेपछि उनले हप्काएका थिए। त्यही भिडियो एक स्थानीयले सामाजिक सञ्जालमा पोस्ट गरेपछि मेयर यादवले नगरप्रहरी परिचालन गरी मुकेशलाई खोजेर ल्याउन निर्देशन दिए।

तर मुकेश नभेटिएपछि खेतमा पानी पटाइरहेका उनका बुबा हरेन्द्रलाई पक्राउ गरी नगरपालिका कार्यालय ल्याइएको थियो। त्यसपछि मेयर यादवले उनलाई आफ्नो जुत्ता फुकालेर टाउकामा राख्न भनेका थिए। तर हरेन्द्रले अस्वीकार गरेपछि झापड लगाउँदै मेयर यादवले उनलाई शौचालयमा आधा घण्टा थुनेका थिए।

सोही साँझ नगरपालिकाका मेयर यादवको निर्देशनमा नगरप्रहरी तथा केही आफन्तसहितको समूहले छोरा मुकेशलाई कुटपिट र अपहरण प्रयास गरेको पीडित परिवारको आरोप छ। तर स्थानीय सशस्त्र प्रहरीको प्रयासमा मुकेश अपहरण हुनबाट जोगिएको पीडित परिवारको भनाइ छ।

यसैबीच स्थानीय बासिन्दाले मेयर यादवलाई कडा कारबाही माग गर्दै बारा जिल्ला प्रहरी कार्यालयअगाडि शुक्रबार विरोध प्रदर्शन गरेका छन्। प्रदर्नशनकारी समूहले मेयर यादवको राजीनामा तथा उनीसहित दोषीहरुलाई कडा कारबाही माग गर्दै नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्