सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी मधेशी माेर्चा


 


काठमाडाैं, भदाै २८

तीन बुँदे सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रचण्ड नेतृत्वमा सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मधेसको माग सम्बोधन गर्न जिम्मेवार नभएको निष्कर्ष निकाल्दै मोर्चाले केही दिनभित्र नै समर्थन फिर्ता लिएर आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो ।

प्रचण्डसँग आशा र भरोसा गर्दै तीन बुँदे सहमति गरेर प्रधानमन्त्री निर्वाचनमा भोट हालेका हौ, तर प्रचण्ड पनि मधेसको असहमति सम्बोधन गर्न तयार देखिनु भएन, केही दिनभित्र निर्णय गरेरै आन्दोलन घोषणा हुन्छ माेर्चाका एक नेताले भने।’

सरकार गठन भएपछि मोर्चाले कार्यदल बनाएर नै प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन दबाब दिदै आएको छ । तर सरकारले पर्याप्त चासो नखाएको र संविधान संशोधनको बारेमा एक पटक पनि छलफल नगरेको भन्दै मोर्चाले चर्को असन्तुष्टि देखाएको छ ।

प्रधानमन्त्री निर्वाचनमा प्रचण्डले संसदमा हाल कायम रहेको ५९५ सांसद मध्येबाट ३६३ मत प्राप्त गरेका थिए । मधेसी मोर्चामा हाल झण्डै ४२ जना छन् ।

मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस माओवादी राप्रपा र फोरम लोकतान्त्रिक सहितका साना दलमा रहेका ३२१ जना सांसदको संख्याले सरकार ढल्दैन । मोर्चाले तत्काल नै एमालेसँगे सहकार्य गर्दा पनि संख्या पुग्ने देखिदैन । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डमाथि नैतिक प्रश्न खडा हुनेछ ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्