नेपाल ट्रष्टको जमिनमा बाबुरामको बक्रदृष्टिः श्वेतपत्र


 


काठमाडौं, फागुन १३

सरकारले करिब ७ वर्षअघि तत्कालिन डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट मोहीका नाममा कायम गरिएको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ ।

बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला २०६९ साल कात्तिक २ गते मन्त्रिपरिषद बैठकबाट करिब १७३ रोपनी जग्गा मोही तथा उनीहरुको हकवालाका नाममा नामसारी गरिएको नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले मंगलबार जारी गरेको श्वेतपत्रमा उल्लेख छ ।

बाबुराम सरकारले मोही खडा गरेर दिएको नेपाल ट्रष्टको जग्गा कानून बमोजिम ट्रष्टकै नाममा एकलौटी हुने दाबी गरिएको छ । ट्रष्टले यसबारेमा अध्ययन गर्न गठित समितिले २०७६ जेठ ७ गते पेश गरेको प्रतिवेदनमा भूमी सम्बन्धी ऐन, बमोजिम ‘नेपाल सरकारको स्वामित्वमा भएको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने उल्लेख छ ।

सोही ऐन बमोजिम थानकोट,सतुंगल र मातातीर्थमा रहेको स्वर्गीय राजा वीरेन्द्रको परिवारका नाममा रहेका जग्गाहरु नेपाल ट्रष्टको कार्यालयको एकलौटी नाममा कायम हुनुपर्ने राय समितिले दिएको थियो ।

बाबुराम भट्टराई सरकारले नेपाल ट्रष्टको नाममा कायम भइसकेका जग्गाहरु व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा १३ र दफा २४ ले व्यवस्था गरे बमोजिमको प्रकृया पूरा गर्नुपर्नेमा सो प्रकृया पूरा गरेको नदेखिएको समेत समितिले राय दिएको छ ।

त्यसैले मोही कायम भएका काठमाण्डौं जिल्ला साविक मातातिर्थ, थानकोट, हादेवस्थानलगायत गाविस स्थित नेपाल ट्रष्टको जग्गा पूर्ववत अवस्थामा नेपाल ट्रष्टको नाममा कायम हुन आवश्यक देखिएको सरकारको ठहर छ ।

यसैबीच बालाजु वडा नम्बर १७, इचुंगमा रहेको नेपाल ट्रष्टको १० रोपनी ६ आना जग्गा पनि २०६९ भदौ १ गते तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले निणय गरी मोहीको नाममा नामसारी भएको श्वेतपत्रमा उल्लेख छ । सो जग्गा सरकारकै कायम गर्न ट्रष्टले उच्चस्तरीय जग्गा सम्बन्धी आयोगमा उजुरी गरिसकेको छ ।

तत्कालिन सरकारले सतुंगलको १ रोपनी ६ आना एक दाम जग्गा मोहीका नाममा गरेको थियो । त्यस्तै मातातीर्थ १ को ‘क’ र ‘ख’ कित्तामा अवस्थित ५० रोपनी १ आना ३ दाम जग्गा पनि स(साना कित्तामा छरिएको र २०६९ भदौ ११ मा निर्णय गरी मोहीको नाममा नामसरी गरिएको श्वेतपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्