व्यापारीको स्वार्थमा अर्थमन्त्री हटाउन वामदेवलाई अघि सारिएको खुलासा, प्रचण्ड–देउवा नै मिले!


 


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय अर्थमन्त्री डा. युवराज खतिवडालाई रोक्नेगरी भएको खुलासा भएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन खोजेका, व्यापारीको स्वार्थअनुरुप नचलेका अर्थमन्त्री खतिवडालाई साइड लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी नेता कांग्रेस सभापति शेरबहादुर देउवाको समेत मिलेमतोमा वामदेव गौतमलाई अघि सारिएको हो । गौतमलाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट नियुक्तिका लागि सिफारिस गरिएमा अर्थमन्त्री खतिवडा पदबाट हट्नेछन् । किनकी उनको सांसद पदको पदावधि सकिँदैछ ।
अध्यक्ष प्रचण्डले प्रतिपक्षी नेता देउवा तथा केही व्यापारीको स्वार्थका लागि खतिवडालाई रोक्न वामदेवलाई अघि सारेको कुरा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले थाहा पाएपछि वामदेवलाई सिफारिस गर्ने पार्टी केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन नगर्ने घोषणा गरेका छन् ।
उनले सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बालुवाटार बोलाएर वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्ने जानकारी गराएका हुन् । बुधबार विहानको सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको केही घण्टामै ओलीले व्यापारीको स्वार्थमा प्रचण्ड र देउवा मिलेर खतिवडालाई रोक्नेगरी वामदेवलाई अघि सारेको थाहा पाएपछि निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा पुगेका हुन् । ओलीले आफूविरुद्ध षड्यन्त्रमूलक घेराबन्दी भएको र त्यसमा केही ब्यापारीको साथ लिइएको कुरा माधवलाई सुनाएका थिए ।

केही ठूलो ब्यापारीको योजनामा डिनर मिटिङ गरेर अर्थमन्त्री डा. युवराज खतिवडालाई रोक्न गौतमलाई अगाडि सारिएको दाबी गर्दै ओलीले त्यो डिनरमा नेकपा अध्यक्ष प्रचण्डसँगै नेपाली कांग्रेस सभापति देउवा समेत सामेल भएको सूचना रहेको जानकारी माधवलाई गराएका थिए । युवराज अर्थमन्त्री रहुन्जेल सिस्टमबाट मात्र अर्थतन्त्र चल्ने भएपछि व्यापारीबाटै चलखेल भएको र यसमा राजनीतिक नेतृत्व पनि संलग्न भएको ओलीको भनाई थियो । स्रोतका अनुसार व्यापारीहरु अजय सुमार्गी, उपेन्द्र महतो र बिनोद चौधरीहरुले अध्यक्ष प्रचण्डमार्फत सबै षडयन्त्र रचेको दाबी गरिएको छ । ओलीले आफूलाई एकपछि अर्को घेराबन्दीमा पारिएको आरोप समेत लगाएका थिए ।

ओलीले गम्भीर कुरा सुनाएपछि नेता नेपालले निर्णयअगावै बैठकमा सबै कुरा किन नभनेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले निर्णय कार्यान्वयन नहुँदा अप्ठ्यारो परिस्थिती आउने भन्दै सचेत समेत गराएका थिए । ओलीको निर्णयसँगै नेकपामा आन्तरिक विवाद बढेको छ । यसले गर्दा सरकार परिवर्तन हुने खतरा समेत बढेको छ भने पार्टीको एकता प्रक्रियामा समेत असर पर्न सक्छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्