वडाध्यक्ष भारतीय नागरिक! जिल्ला प्रशासनमा उजुरी


 



जनकपुर, फागुन १९
महोत्तरीका एकजना वडाध्यक्ष भारतीय नागरिक भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । उनीविरुद्ध कारबाही माग गर्दै स्थानीय हरिश्चन्द ठाकुरले प्रमाणसहित उजुरी दिएका हुन् ।

स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित चौधरी भारतको सीतामढी जिल्लाको सिरसिया बजारका बासिन्दा भएको उजुरीकर्ता ठाकुरकाे दाबी छ।

ठाकुरले प्रशासनमा पेस गरेका प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता सूचीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम छ।

फर्जी कागजात पेस गरेर नेपाली नागरिकतासमेत लिएका वडाध्यक्ष चौधरी सन् २०१९ मा सम्पन्न भारतकाे लोकसभा चुनावमा समेत भोट हालेकाे प्रमाणसमेत उजुरीकर्ताले ठाकुरले प्रशासनमा उपलब्ध गराएका छन्।

प्रशासनमा उजुरी दिएको झण्डै १ महिना हुँदा पनि कुनै कारबाही प्रक्रिया अघि नबढेको स्थानीय बासिन्दा ठाकुरको गुनासो छ। उजुरीकर्ता ठाकुर रामगोपालपुर नगरपालिका ८ का बासिन्दा हुन्।

यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने त्यसबारे अनुसन्धान भइरहेकाे बताएका छन । यसअघि पनि वडाध्यक्ष भारतीय नागरिक रहेको भन्दै रामगोपालपुर नगरपालिका कार्यालयमा उजुरी परेको थियो।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्