कोरोनाबारे संसद्मा काँग्रेसको जरुरी सार्वजनिक महत्वको प्रस्ताव


 


काठमाडौं, फागुन २३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले कोरोना संक्रमणबाट बच्नका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभयो। अहिलेसम्म नेपालको सुखद अवस्था भएपनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उहाँको भनाइ थियो ।

सीमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उहाँले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सबै देशले आवश्यक तयारी गरेको र भिषा रद्द पनि गर्न थालेको उल्लेख गर्दै थापाले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ्ग गर्न आवश्यक रहेको बताउनुभयो। कोरोनाबारे विभिन्न कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र दुविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गर्नुभएको छ ।

सांसद थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नुभएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्