हुलाकी मार्गले गति लियो


 


झापा, फागुन २६
झापामा हुलाकी मार्गको निर्माणले गति लिएको छ ।

पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकको भनिएकोे हुलाकी राजमार्ग निर्माणले तीव्रता पाएको हो । हुलाकी राजमार्ग निर्माणका लागि नेपाल सरकारबाट बजेट विनियोजन भई ठेक्का लागेपछि सडक निर्माणको प्रक्रिया सुरु भएको हुलाकी सडक आयोजना इटहरीले जनाएको छ ।

झापा जिल्लाको दक्षिणी क्षेत्रबाट भद्रपुर हुँदै विराटनगर जोड्ने हुलाकी सडकको निर्माण कार्य लामो समयसम्म रोकिएको थियो । जिल्लाको सदरमुकाम चन्द्रगढी र मोरङ जिल्लाको सदरमुकाम विराटनगर जोड्ने छोटो बाटोको रुपमा लिइएको हुलाकी सडकलाई चौडा गर्ने काम तीव्र रुपमा अगाडि बढेको छ ।

त्यसक्रममा सडकमा रहेका कल्भर्ट निर्माण र सडक चौडा बढाई माटो भर्ने कार्य भइरहेको छ । रतुवा खोलादेखि बिरिङ खोलासम्म निर्माण गरिने सडकमा जम्मा ३८ वटा नयाँ कल्भर्ट निर्माण गरिने छ ।
हुलाकी सडक चौडा गरिँदा सडकमा परेका संरचना भत्काउन थालिएको छ । गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी र गौरीगञ्ज बजारमा सडकको दुवैपट्टि रहेका पुराना घरहरू भत्काएर सडक खाली गरिएको छ ।
नापी शाखाका सर्वेक्षक सुगम पाण्डेका अनुसार साविक रहेको सडकलाई आधार मानी त्यसको बीच भागबाट दुवैतर्फ १५–१५ मिटर चौडा बनाइनेगरी नाप नक्सा गरी सडकको भाग छुट्टयाइएको छ । हुलाकी सडक निर्माणका लागि मोदीदान कन्ट्रक्सन सेवन प्रालि काठमाडौं र हुलाकी राजमार्ग आयोजना इटहरीले जिम्मा पाएको छ । रतुवा खोलादेखि पूर्वमा विरिङ खोलासम्म २९ किलोमिटर रहेको र सडक निर्माण गर्न १ अर्ब ५० करोड रुपैयाँमा ठेक्काको जिम्मेवारी पाएको मोदीदान कन्ट्रक्सनका प्रमुख रामबहादुर गौतमले बताए ।
हुलाकी सडक निर्माणमा मुख्य बजार तथा मानिसको भीडभाड हुने क्षेत्रमा ड्रेनबाहेक ३० मिटर कालोपत्रे र अन्य ठाउँमा ७ मिटर कालोपत्रे र २.५ मिटर सडकको भाग रहने मोदीदानका प्रोजेक्ट मेनेजर दीपक श्रेष्ठले बताए ।
हुलाकी सडकमा पर्ने मुख्य बजारहरू चिलारा, गौरीगञ्ज, ठेकिटोला, तुलाचौन, कुञ्जीबजार र झापा बजार क्षेत्रमा ३० मिटर कालोपत्रे गरिने मेनेजर श्रेष्ठले बताएका छन् । दक्षिणी क्षेत्रको विकासको मेरुदण्डको रुपमा लिइएको हुलाकी सडक निर्माण सम्पन्नपछि आवतजावतमा सहजता आउनुका साथै यस क्षेत्रको व्यापार व्यवसाय बढ्ने गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ बताए । ‘लामो समयको प्रतीक्षापछि हुलाकी सडक निर्माण कार्य सुरु भएकाले तोकिएकाले पनि समय सीमाभित्र नै निर्माण सम्पन्न हुने छ’, उनले भने, ‘यसले झापाको दक्षिणी क्षेत्रको विकास, बसाइँसराइँ रोक्न मद्दत पु¥याउने छ ।’

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्