छाहरे खोलाबाट जीप खस्यो, ६ जनाको अवस्था गम्भीर


 


काठमाडौं, फागुन २७
गोरखामा मंगलबार बिहान जीप दुर्घटना भएको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्बु छाहरेखोलामा जीप दुर्घटना भएको हाे।

बा १५ च १०१६ नम्बरको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको घटनास्थलबाट स्थानीय राम गुरुङले बताए। रञ्चोकबाट सौरपानी हुँदै गोरखातर्फ आउँदै गरेको उक्त जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ।

जीप सडकबाट करिब एक सय ५० मिटर तल खसेको उनले जानकारी दिए। घाइतेहरुको उद्धार गरी जीप खसेको ठाउँबाट सडकसम्म ल्याइएको छ। गम्भिर घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भइरहेको उनले बताए।

जीप खसेको ठाउँमा प्रहरी भर्खरै पुगेकाले बिस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए। साँघुरो सडकमा जीपको ब्रेक फेल भएर दुर्घटना भएको चालकलाई उदृत गर्दै स्थानीयले बताएका छन्।

प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्