नेपाली भाषा परिवर्तनको संघारमा



bhudhara-photo

भूधरा उपाध्याय

भाषा बिचारको संवाहक हो । भाषाको माध्यमले एकको भावना अर्कोसँग सजिलै पुर्याउन सकिन्छ । वक्ता र श्रोताबीचको सम्बन्ध सुमधुर बनाउने एक मात्र माध्यम भाषा हो। नेपाली भाषा धेरै पुरानो तथा सशक्त भाषारुपमा चिनिन्छ ।

यो भाषा भारोपेली भाषाको आर्य इरानेली शाखाबाट संस्कृत, प्राकृत र अपभ्रंश हुदै आर्यभाषाको रुपमा विकसित भएको खश भाषा हो। त्यसै भाषाले पर्वते–बोली, गोरखा–भाषा हुदै नेपाली भाषाको रुप धारण गरेको हो।

नेपाली भाषा कहिलेदेखि बोलिचालीको रुपमा आयो भन्ने कुराको ठोस तिथिमिति भेटिएको छैन। अहिलेसम्म भेटिएको नेपाली भाषाको सबैभन्दा पुरानो लिखित इतिहास चाहिँ १०३२ वर्ष पुरानो रहेकोछ। भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो। यो बिक्रम सम्वत १०३८ को हो। यसमा लेखिएको छ–

ओ… (मणि?) पद्मे हुँ ।… दामुपाल भुपाल रेख भई । किष्णु अडैको भाइ सउंपाल अडै सा (के?) ९०३

यसैबाट हामी अनुमान लाउन सक्छौँ कि बोलीचालीका रुपमा नेपाली भाषा लामो समयदेखि यो समाजमा फैलँदै आएको छ । यो भाषा लामो प्रचलन र प्रयोगले गर्दा समृद्ध भाषाका रुपमा विकसित हुन पुगेको छ।

यो भाषा नेपाली विषय पढ्ने र पढाउनेमा मात्र सीमित छैन। यो सरकारी कामकाजको भाषा, बहुभाषी जातजातिका बीचको सम्पर्क भाषा, आमसञ्चार, पत्रकारिता क्षेत्रमा प्रचलित साझा भाषा हो । यो भाषा नेपालमा मात्र सीमित नरही संसारका विभिन्न मुलुकमा विस्तारित भइसकेको छ।

संवैधानिक रुपमा हेर्ने हो भने राजा महेन्द्रले जारी गरेको २०१९ सालको पञ्चायती संविधानमा यो भाषाले ‘नेपाली’ नाम पाई राष्ट्रभाषाको मान्यता पाएको हो । नेपाल अधिराज्यको संविधान, २०४७ मा देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो ।

नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख गरिएको छ। हालको नेपालको संविधानको धारा ७ मा ’ देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनेर लेखिको छ।नेपाली भाषालाई भारतीय सम्बिधानको आठौं अनुशुचीमा २० अगस्त १९९२ मा अन्य राष्ट्रिय भाषा सरह मान्यता प्राप्त भएको छ।

भाषा गतिशिल हुने हुदाँ परिवर्तन उन्मुख हुन्छ। बेलाबेलामा यसको परिमार्जन पनि गर्दै जानु पर्छ । अहिले नेपाली भाषा परिवर्तन र परिमार्जनको विषयलाई लिएर व्यापकरुपमा बहसहरु भइरहेका छन् । भाषाका बिद्वानहरु एक अर्कालाई भाषा बिगारेको दोषारोपण पनि गरिरहेका छन् ।

नेपाली भाषा हामी नेपालीको जनजिब्रोमा झुण्डिएको र धुकधुकीमा बसेको आफ्नो भाषा हो जुन हाम्रो लागि गौरवको विषय हो। यसले विश्वका अनेकौँ मुलुकमा बिस्तारित हुने मौका पाउनु हामी सबैका लागि गर्वको कुरा हो । तर यता केही वर्षदेखि नेपाली भाषाको लेखनमा विविधता देखिन थालेको छ ।

नेपाली भाषाको लेखनमा बिद्वानहरुको एक मत नदेखिनु दुस्खको विषय बनेको छ फलस्वरुप भोलिका दिनमा यो भाषा कमजोर बन्दै जाने हो कि भन्ने गभ्भीर प्रश्न चिह्न खडा भएको छ।भाषा जहिले पनि जटिलताबाट सरलतातर्फ उन्मुख भइरहेको हुन्छ।

उच्चारण गर्न कठिन शब्दहरु लेख्न झनै कठिन हुन्छन्। लेख्य भाषा कथ्यजस्तो सजिलो नहुनाले भाषामा परिमार्जन हुनु आवश्यक छ। नेपाली भाषामा बिद्यमान लृ वर्ण लोपै भइसकेको छ भने ऋ वर्ण पनि लोप हुने अवस्थामा पुगेको छ। ञ, ण, श, ष, क्ष, ज्ञ हटाउने, संयुक्त वर्णलाई हटाउने, कथ्यअनुसार लेख्य बनाउने काम पनि शुरु भएको छ।

भाषालाई सरल र बोधगम्य बनाउँदा शब्दको बनोटलाई चाहिँ अवस्य ध्यान दिनु पर्छ। व्याकरणको आफ्नै नियम छ र सो नियमलाई भने मिच्न पाइदैन। उदाहरणका लागि ’दृशंता ’) ’द्रष्टा’ लाई द्रस्ंटा ) ’ द्रस्टा’, ’गैंइका’ )’ गायिका’ लाई ’गायंइका’) ’गायिका’, ’मृंअन’)’मरण’ लाई ’र्मंन’)’ मरन(ण’ ’कृंता’)’ कर्ता’लाई ’र्कंता’)’कर्ता, लेख्न थालियो भने भाषाको मर्म काहाँ पुग्ला?

श्रुतिसमभिन्नार्थक शब्दको प्रयोगमा पनि यस्तै अन्योलता देखिएको छ। सुन्दा उस्तै तर लेख्यरुपमा अर्थ भिन्न आउने यस्ता शब्दहरुको प्रयोगलाई कसरी सरल बनाउने?दीर्घ लेखिँदै आएका ई कार र ऊ कारलाई हुलमूलमै ह्रस्व लेख्ने उकारमा भेद नगर्दा अर्थ नै फरक आउने गर्छ। उदाहरणको लागि ’फुल’ को अर्थ अण्डा हुन्छ भने ’फूल’ को अर्थ पुष्प हुन्छ।

यी शब्दहरुमा उकारमा फरक हुनाले अर्थ पनि फरक लागेको छ। यस्तै नियम इकारको प्रयोगमा पनि लागू हुन्छ। यस्ता शब्दहरु इकार, ईकार र उकार, ऊकारलाई एउटै रुपमा प्रयोग गर्दा अर्थ कसरी बुझ्ने?

नेपाली भाषाको श्रीबृद्धि र सम्वर्द्धनका लागि बिद्यार्थीको महत्वपूर्ण भूमिका रहन्छ। आजका बिद्यार्थी भोलिका शिक्षक, भाषा सुधारक, बिद्यालय( विश्व बिद्यालय तथा विभिन्न सामाजिक साहित्यिक संघ संस्थाका उच्च पदस्थ हुन सक्ने हुदां उनीहरुले भाषालाई राम्ररी बुझ्नु र त्यसको राम्रो प्रयोग गर्न सक्ने क्षमता बृद्धि गर्नु जरुरी हुन्छ ।

कतिपय विद्यालयले नेपाली विषयलाई सामान्य दृष्टिले हेर्ने परिपाटी रहेको छ। सामान्य नेपाली साहित्य जानेको व्यक्तिले नेपाली व्याकरण र भाषा पढाउन सक्दैन ।व्याकरण र भाषाको राम्रो दख्खल नभएको व्यक्तिलाई शिक्षकको रुपमा नियुक्ति गर्नाले बिद्यार्थीको नेपाली विषय, भाषा र व्याकरणको स्तर घट्दै गएको छ ।

कुनै पनि भाषा तथा व्याकरणको शिक्षण गर्नु खेलाची होइन त्यसैले यस्ता विषयमा विद्यालयले ख्याल राख्नु पर्छ। भाषालाई सिर्जनशील बनाउने भनेर एकथरि विद्वानहरु अघि बढिरहेका छन् ।

भाषाजस्तो बोलिन्छ त्यस्तै लेख्नु पर्छ । भाषालाई सिर्जनात्मक बनाउन नियम घोक्नु पर्ने बाध्यताको अन्त हुनु पर्छ भन्ने उनीहरुको भनाइ छ भने अर्काथरि विद्वानहरु भाषा बचाउ आन्दोलनमा लागेका छन् । भाषा परिवर्तनशील भए पनि त्यसलाई अन्धधुन्धा बदल्नु हुदैन भन्ने उनीहरुको भनाइ छ । यसरी विद्वानहरु बीच भाषा परिवर्तनका विषयमा एक मत नहुदाँ शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण नेपाली भाषीमा अन्योलता बढ्न गएकोछ ।

नेपाली भाषा हाम्रो राष्ट्रभाषा, सम्पर्क भाषा र माध्यम भाषा हो। अन्तर्रा्ष्ट्रिय विस्तारका रुपमा पखेटा लगाइसकेको अवस्थामा यस भाषाको मानक लेख्य स्वरूपलाई भत्काएर विकृत हुनबाट जोगाउनु पर्छ। नेपाल प्रज्ञा(प्रतिष्ठानद्वारा २०६७ पुस २६(२८ मा नेपाली भाषाको सङगोष्ठी गरिएको थियो यस्ता गोष्ठी क्रमिकरुपमा हुन आवश्यक भएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालय, त्रि.वि. नेपाली केन्द्रिय विभाग, त्रि.वि. पाठ्यक्रम विकास केन्द्र, नेपाल प्रज्ञा(प्रतिष्ठानजस्ता सम्बन्धित निकायहरुले पटक पटक अनिवार्य रूपमा विचार(विमर्श र गोष्ठी गरी नेपाली भाषाप्रति नकारात्मक धारणा फैलिनबाट जोगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News