भारत भ्रमणबारे प्रधानमन्त्रीबाट माओवादी केन्द्रका नेतालाई जानकारी


 


cmprachanda

काठमाडौँ, भदौ २९  नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलयको बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका दाहालले आफ्नो भारत भ्रमणको कार्यतालिका र कार्यसूचिका विषयमा जानकारी गराउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका नेताले प्रधानमन्त्रीलाई भारत भ्रमणको सफलताको लागि शुभकामना दिँदै दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपालको राष्ट्रिय हित हुने गरी कार्यसूची तय गर्न सुझाव दिएको प्रवक्ता भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले यो भ्रमण मुख्य त सद्भाव भ्रमण भएको जानकारी दिँदै विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्नेमा आफू केन्द्रित हुने जानकारी गराउनुभयो ।

भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणका लागि भारतीय सहयोग, हुलाकी राजमार्ग निर्माण, विद्युत् व्यापार सम्झौताको कार्यान्वयनलगायत विषयलाई आफूले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराउनुभएको प्रवक्ता भुसालले बताउनुभयो ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्