कोरोना संक्रमण रोक्न यस्तो छ प्रदेश १ सरकारको योजना


 


विराटनगर, फागुन २९

संघीय सरकारले कोरोनाविरुद्ध पर्याप्त तयारी नगरेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला प्रदेश १ सरकारले भने योजनाबद्ध कार्ययोजना सार्वजनिक गरेको छ ।

कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि प्रदेश सरकारले एकीकृत कार्ययोजना तयार पारेको हो । बिहीबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले कार्ययोजना पारित गर्दै तत्कालै लागु गरिने जनाएको छ ।

मुख्यमन्त्री शेरधन राईका अनुसार एकीकृत कार्ययोजनामा सही सूचना सम्प्रेषणदेखि संक्रमितहरुको गोपनीयता राख्नेसम्मका योजना छन् । प्रदेश सरकारकै अगुवाईमा २३ बुँदे योजना तत्कालै कार्यान्वयन गरिने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

कार्ययोजनामा व्यक्तिगत सरसफाईबारे सचेतना फैलाउने, अन्तर्राष्ट्रिय नाका, प्रदेश नाकाहरुमाम स्क्रिनिङ डेस्क स्थापना गर्ने, भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा पनि डेस्क स्थापना गर्ने, आवश्यक जनशक्ति र उपकरणको प्रबन्ध गर्ने उल्लेख छ । यसैगरी शंकास्पद व्यक्तिलाई त्यस्तो डेस्कबाट क्वारेन्टाइन वा आइसोलेसनसम्म पुर्याउने प्रबन्ध पनि गरिएको सरकारको भनाइ छ ।

प्रदेश सरकारको कार्ययोजनामा हरेक नाकामा ९ र विमानस्थलमा ६ जनाको दरले स्वास्थ्यकर्मी परिचालन गरिने उल्लेख छ । औषधि, औजारहरुको स्टक र ढुवानीको प्रबन्ध गर्ने, कोशी, मेची, बीएण्डसी र धरानस्थित वीपी प्रतिष्ठानमा घटीमा ३० वटा आइसोलेसन बेड तयार पारिने सरकारको कार्ययोजनामा उल्लेख छ । ‘यी सबै काम तत्कालै गरिनेछ’, मुख्यमन्त्री राईले भन्नुभयो ‘डेस्क स्थापना गर्ने काम भइसकेको छ । बेडहरु पनि तयारी अवस्थामा राखिएको छ ।’ उहाँका अनुसार जिल्ला अस्पतालहरुमा पनि त्यस्ता बेडहरु तयार गर्ने तयारी सुरु भएको छ ।

प्रदेश सरकारले पाँच वटा सीमानाकाहरु जोगवनी, काँकडभिट्टा, भद्रपुर, पशुपतिनगर र भन्टाबारीमा चालक र मेडिकल टोलीसहितको एम्बुलेन्स सेवा पनि तैनाथ गरिने जनाएको छ । प्रदेश तहमा २–२ वटाका दरले र जिल्ला तहमा पनि २–२ वटाकै दरले २० वटा एम्बुलेन्स तयार राखिने कार्ययोजनामा उल्लेख छ ।

स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने, योजनामा उल्ल्ेख छ ।
प्रदेश सरकारले पहिलो चरणमा सुनसरीको श्रीलंका टापु र मोरङ टाँडीको सैनिक इलाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । यी सबै काम सम्पन्न गर्न मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशन समिति पनि गठन गरिने प्रदेशले जनाएको छ । जिल्ला र स्थानीय तहमा पनि विभिन्न समितिहरु गठन गरेर परिचालन गर्ने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको सम्पर्क ट्रेसिङ गर्ने लगायतका योजना पनि एकीकृत कार्ययोजनामा समेटिएका छन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्