आफै ‘विरामी’ छन् स्वास्थ्य संस्था


 


दाङ, फागुन २९

जनतालाई उपचार सेवा दिने स्वास्थ्य संस्थाहरु नै विरामी अवस्थामा छन् । दाङका २९ स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा प्रवाह गर्न बाध्य छन् ।

तुलसीपुर उपमहानगरपालिकाका सात, शान्तिनगर गाउँपालिकाका तीन, राजपुर गाउँपालिकाका पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बगलाचुली गाउँपालिकाका दुई, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन् ।

त्यस्तै राप्ती गाउँपालिकाका तीन र बबई गाउँपालिकाको एक स्वास्थ्य संस्था पनि भाडाको भवनमा सञ्चालनमा आएका छन् । दाङको गढवा गाउँपालिकामा भने सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो । भाडामा रहेका स्वास्थ्य संस्थाका लागि भवन निर्माणको प्रक्रिया अघि बढिरहेको सम्बन्धित पालिकाका प्रमुख तथा प्रतिनिधिले जानकारी दिएका छन् । कुनै स्वास्थ्य संस्थाको भवन निर्माणको काम शुरु भएको छ भने केहीको अन्तिम चरणमा पुगेको छ ।

तुलसीपुर उपमहानगरपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थामध्ये वडा नं २ र ६ मा रहेका स्वास्थ्य संस्थाको भवन निर्माण अन्तिम चरण रहेको र यही आर्थिक वर्षमा सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । अरु वडाको काम यो वर्षमा ४० प्रतिशत हुने र अर्को आर्थिक वर्षमा बजेट छुट्याएर काम पूरा गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी घोराही उपमहानगरपालिका–१ का लागि बजेट छुट्याइसकेको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । वडा नं १५ मा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि जग्गा नपाएका कारण भवन बन्न केही समय लाग्ने उहाँले बताउनुभयो । त्यस्तै लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण आर्चायले स्वास्थ्य संस्था नभएको वडामा स्वास्थ्य संस्था स्थापना गर्नका लागि प्रक्रिया शुरु भएको जानकारी दिनुभयो ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा आफ्नै भवनमा स्वास्थ्य संस्था नभएका वडामा भवन बन्ने प्रक्रियामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताउनुभयो । राजपुर गाउँपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थाको भवन बनाउनका लागि बोलपत्र प्रक्रिया भई भवनको काम भइरहेको र अबको दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको कमल रोकायाले जानकारी दिनुभयो ।

त्यस्तै दङ्गीशरण गाउँपालिकामा गएको वर्षमा गाउँपालिकाबाट केही बजेट छुट्याएर भवन निर्माणको काम भइरहेको स्वास्थ्य शाखा संयोजक दशरथ गिरीले जानकारी दिनुभयो । बबई गाउँपालिकामा तीन स्वास्थ्य संस्थाका लागि भवन निर्माण भइरहेको र यही आर्थिक वर्षसम्म भवन निर्माण हुने हरि खड्काले जानकारी दिनुभयो । बगलाचुली गाउँपालिकामा स्वास्थ्य संस्थाको भवन निर्माणको काम भइरहेको र अबको दुई महिनामा भवन निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिनुभयो ।
राप्ती गाउँपालिकामा भाडाको वडा नं ४, ६ मा यो आर्थिक वर्षमा भवन निर्माण हुने र वडा नं ९ मा रहेको स्वास्थ्य संस्थाका लागि सरकारबाट बजेट नपरेकाले केही समय लाग्ने स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो ।

आफ्नै भवन नभएको हुँदा सेवाग्राहीलाई सोचेअनुसार सेवा प्रदान गर्न नसकिएको बगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर जिसीले जानकारी दिनुभयो । भाडामा स्वास्थ्य संस्था सञ्चालन गर्दा सरसफाइलगायत आफ्नो आवश्यकताअनुसारको कोठालाई प्रयोग गर्न नसकिने भएकाले सेवाग्राहीको आवश्यकताअनुसार सेवा दिन नसकिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताउनुभयो । स्वास्थ्य संस्थाका लागि चाहिने सामान राख्नका लागि समेत समस्या हुने गरेको उहाँको भनाइ छ । दाङका १० स्थानीय तहका १०० वडामध्ये सात वडामा स्वास्थ्य संस्था पुगेका छैनन् ।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्