लकडाउनमा कन्टेनरमा लुकेर आएका ५२ यात्रु पक्राउ, चालकमाथि मुद्दा चलाइने


 


वीरगन्ज, चैत्र १२
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउन उल्लंघन गरेर विभिन्न शहरबाट मालवाहक लरीको खाली कन्टेनर भित्र लुकेर वीरगन्ज आएका ती ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

प्रहरीले लरीका चालक शीवनारायण महरालाई पनि नियन्त्रणमा लिएको छ। काठमाडौंको सतुंगलमा रहेको टायल इन्जिम हार्डवेयरमा अल्मुनियम झारेर मंगलबार साँझ वीरगन्ज फर्किने क्रममा लरीमा रहेको खाली कन्टेनर भित्र काठमाडौं, भरतपुर, हेटौडाबाट ती यात्रुहरु चढेका थिए।

प्रति व्यक्ति २ सय रुपैयाँ भाडा दिने सर्तमा चालकले आफुहरुलाई लरीमा चढाएको यात्रूहरुले बताएका छन्। प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा, पर्सा र रौतहटका बासिन्दा हुन्। उनीहरु व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए। मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हाे।

काठमाडौंबाट भरतपुर-हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघरमा मंगलबार राति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक कुशल बर्तौलाले कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा बुधबार बिहान पठाइएको बताए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले लकडाउन उल्लङ्घन गरी यात्रु ओसार्ने लरीका चालकलाई प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कारबाही गरिने बताए। यात्रुहरुलाई भने क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरेपछि अवस्था कस्तो देख्निछ त्यहि अनुसार निर्णय गरिने उनले जानकारी दिए।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्