भारतद्वारा संविधान स्वागत गर्न अस्वीकार


 


काठमाडाैं, असाेज १

भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ ।

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संविधानमा असन्तुष्ट सबै पक्षका आकांक्षा समेट्न आग्रह गरे । भारतीय प्रधानमन्त्री मोदीले असन्तुष्ट पक्षको माग सम्बोधन गरी नयाँ संविधान कार्यान्वयनमा ल्याउन दाहालले गर्ने प्रत्येक प्रयासको सफलताका लागि शुभकामना पनि दिएका थिए ।

नेपाल–भारत द्विपक्षीय बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र मोदीले ‘वान अन वान’ वार्ता गरेका थिए । करिब आधा घन्टा भएको एक्लाएक्लै वार्तामा दाहालले भारतीय समकक्षीलाई नेपालको संविधानलाई स्वागत गर्न मनाउने प्रयास गरेका थिए । प्रधानमन्त्री दाहाल निकट स्रोतअनुसार मोदीले नयाँ संविधानको स्वागत गर्न अस्वीकार गरेका थिए ।

भेटमा मोदीले स्पष्ट रुपमा संविधानप्रति जो असन्तुष्ट छन्, तिनका माग सम्बोधन गर्न आग्रह गरेका थिए । उनले असन्तुष्ट पक्षका माग सम्बोधन गरे मात्र संविधान कार्यन्वयन हुने र नेपाल शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दाहाललाई स्मरण गराएका थिए ।

दाहालले भने संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रक्रिया आफूले सुरु गरिसकेको जानकारी गराएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले ‘अहिले तपाईंले चालेको कदम ठिक छ, साथमा छु,’ भनेका थिए ।

 

 

 

 

 

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्