सप्तकोशीमा डुंगा पल्टियो, ३७ जनाकाे उद्दार


 


सुनसरी, असाेज १

सप्तकोसी नदीमा डुंगा पल्टिँदा हराएकाहरुको उद्धार र खोजीमा समस्या भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापाँगाइँका अनुसार अहिलेसम्म ३७ जनाको उद्धार गरिएको छ ।

निरन्तर वर्षा भएका कारण हराएकाहरुको खोजीकार्य प्रभावित भएको छ । नेपाली सेनाका दुई, सशस्त्र प्रहरीका दुई र स्थानीय बासिन्दाका दुई वटा गरी ६ वटा डुंगाको मद्धतमा खोजी काम भइरहेको छ । यस्तै भारतीय प्राविधिकको एउटा मोटरबोट परिचालन भएपनि वर्षाका कारण समस्या भएको छ ।

यसैगरि सप्तरी प्रहरीलेसमेत कोसी व्यारेज क्षेत्रमा खोजीका लागि डुंगा परिचालन गरेको छ । डुंगा पल्टदा कति हराए भन्ने अझै यकिन हुन सकेको छैन । सुनसरीको प्रकाशपुर स्थित श्रीलंका टप्पुबाट डुंगा चढेर आउनु भएकी स्थानीय स्वास्थ्य स्वयं सेविका प्रमिला कबिरथले डुंगामा ७० भन्दा बढी यात्रु चढेको बताए ।

तर ती मध्ये कति सकुसल निस्किए र कति हराए भन्ने यकिन हुन सकेको छैन । उनले आफू पनि खोर्सानीको पोकोका कारण बाँचेको जानकारी दिए । उनका अनुसार डुंगा पानीको भंगालोमा फसेर पल्टिएको हो ।

शनिबार प्रकाशपुर बजारमा शनिबार बजार लाग्ने भएकाले बजार भर्नका लागि ठूलो संख्यामा श्रीलंका टप्पुबाट मानिसहरु डुंगामा चढेर आएको हुन सक्ने अनुमान गरिएको छ । सुनसरीको प्रकाशपुर स्थित श्रीलंका टप्पुबाट शनिबार मध्यान्ह प्रकाशपुर राजाबास तर्फ आँउदै गरेको डुंगा पल्टिएको थियो । क्षमता भन्दा बढी यात्रु बोकेर आएको डुंगा भंगालोमा फसेर पल्टिएको अनुमान गरिएको छ ।

२०६४ सालमा पनि सोही स्थानमा डुंगा पल्टदा ३२ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको लास समेत भेटिएको थिएन । २०७० साल साउन २१ गते भंगालोबाट १० किलोमिटर उत्तरमा पर्ने चतराघाटमा पनि डुंगा पल्टदा १५ जना बेपत्ता भएका थिए भने ४ जनाको लास फेला परेको थियो ।

कोसीमा हरेक वर्ष डुंगा पल्टिएर जनधनको क्षति भएपछि डुंगा सञ्चालनमा स्थानीय प्रशासनले कडाइ गरेको थियो । चतराघाटमा डुंगा पल्टिएपछि अनिवार्य रुपमा लाइफ ज्याकेट लाउनु पर्ने नियम लगाइएको भएपनि कार्यान्वयन हुन सकेको छैन ।

क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, यात्रुले अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनु पर्ने भनिएपनि नियम पालना नहुँदा कोसीमा जोखिम बढीरहेको छ ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्