प्रचण्डले राष्ट्रघात गरेको भन्दै विप्लवद्वारा आन्दोलनको घोषणा


 


Netra-Bikram-Chand-Biplavकाठमाडौं, असोज २

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा ठूलो राष्ट्रघात गरेको भन्दै नेकपा (माओवादी)ले त्यसका विरुद्ध कडा संघर्षमा उत्रने घोषणा गरेको छ ।   नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले विज्ञप्ती जारी गर्दै विगतमा भएका राष्ट्रघाती सम्झौतालाई फेरि निरन्तरता दिँदै थप राष्ट्रघाती सम्झौताहरु गरेको प्रष्ट पारेका छन् ।

प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सहमति देशका निम्ति ठूलो बेइज्यति र शर्मनाक विषय भएको दावी पनि महासचिव विप्लवले गरेका छन् । प्रचण्डले नेपाली जनताको परामर्श नै नलिएर भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका रुपमा समर्थन गर्ने सहमति गरेको, नयाँ दिल्लीबाटै नेपालका भुकम्प पीडितलाई पैसा बाँड्ने योजना बनाएको, नेपालमा निरन्तर विरोध र खारेजीको माग हुँदै आएका महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनालाई कार्यान्वयन गर्ने फेरि सहमति जनाएको भन्दै यसले प्रचण्डको ‘विस्तारवाद सामुको नाङ्गो दलाली र आत्मसमर्पण’ प्रष्ट भएको बताइएको छ ।

विज्ञप्तीमा महासचिव विप्लवले भनेका छन्, “२५ बुँदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्री प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएको छ । उनको अनुहार नकावविहिन बन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदाङ्गिएको छ ।”

 भारत भ्रमणका क्रममा प्रचण्डले गरेको २५ बुँदे सहमतिलाई कुनै पनि हालतमा लागु हुन नदिने घोषणा पनि नेकपा (माओवादी)ले गरेको छ । साथै प्रचण्डले संविधान पनि भारतकै चाहना वमोजिम संशोधन गर्नेसम्मका कवुल गरेर चरम राष्ट्रघात र नेपाली नागरिकहरुका लागि समेत घोर लज्जित बनाएको भन्दै यसका विरुद्धमा आम नेपाली जनतालाई संघर्षमा उत्रिन अपिल विप्लवले गरेका छन् ।

सहमतिको बुँदा नं. ९ मा नेपालका भुकम्प पीडित परिवारलाई नयाँ दिल्लीबाटै कति पैसा बाँड्ने भन्ने सहमति जनाएको, बुँदा नं १० मा संविधानको योजनाकारको रुपमा भारतलाई मान्दै उसैले भने अनुरुप बनाउने वाचा कवुल गरिएको, बुँदा नं. ११ मा भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि समर्थन गरेको, बुँदा नं. १५ मा हुलाकी राजमार्गलाई भारतको स्वार्थ अनुरुप छोडिएको, बुँदा नं १९ मा महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजना सम्झौताको कार्यन्वयन गर्ने सहमति गरेको माओवादीले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्