प्रचण्डकाे भारत भ्रमणलार्इ लिएर माअाेवादीमा भाँडभैलाे


 


काठमाडाैं, असाेज ४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी बनाएको विश्लेषण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै पार्टीभित्रबाट आलोचित भएका छन् । पार्टी केन्द्रीय कार्यालयको बैठकमा सोमबार आफ्नो भारत भ्रमण फलदायी भएको भन्दै निकै फुरुंग र दंग देखिएका प्रधानमन्त्री दाहाललाई उनकै पार्टीका नेताहरूले मंगलबारको बैठकमा जमेर आलोचना गर्ने तयारी गरेका छन् ।

अन्तर्राष्ट्रिय मुद्दाहरूमा भारतसँग गठबन्धन बनाएर अन्य अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याउन खोजेको, संविधान निर्माण गर्ने विषयलाई संयुक्त वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा प्रवेश गराउन खोजेको, नेपालमा निर्माण भएका परियोजनाको संयुक्त निगरानी गरेर भारतीय हस्तक्षेप बढाएकोजस्ता आरोप लगाएर प्रधानमन्त्री दाहालमाथि नेताहरूले खनिने तयारी गरेका हुन् ।

‘प्रधानमन्त्रीको ब्रिफिङ सुनिसकेपछि हामी बोल्न खोज्दै थियौं तर नेताहरू काम परेको भनेर निस्किन थालेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरियो’, भारत भ्रमणका क्रममा भएका सहमतिबाट आक्रोशित एक नेताले भने, ‘प्रधानमन्त्रीले ब्रिफिङ गरेजस्तै अवस्था होइन । एक नेताका अनुसार प्रधानमन्त्री दाहालले सोमबारको बैठकमा चिसिएको भारतसँगको सम्बन्ध सुधारका लागि विश्वासिलो आधार बनेको, भारत भ्रमण आफूले सोचेभन्दा बढी सफल भएको, नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुगेको विश्लेषण सुनाएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले आफूसँगको भेटमा ‘तपाईंजस्तो ठूलो नेता म होइन’ भनेर आफूलाई सम्मान गरेको पनि प्रधानमन्त्री दाहालले बैठकमा सुनाए । ‘भारतीयहरू मलाई नेता मान्दा रहेछन्’, प्रधानमन्त्री दाहालले बैठकमा भनेका थिए ।

आफूलाई भारतको आज्ञाकारी र नेपालको परराष्ट्र नीतिलाई भारतमा निर्भर गराउन खोजेको आरोप लाग्न थालेपछि प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयमार्फत भारतसँग संयुक्त रूपमा जारी गरिएको वक्तव्यबारे थप प्रस्टीकरण दिन लगाएको पनि बैठकमा जानकारी गराए ।
भारतसँग संयुक्त रूपमा जारी गरिएको वक्तव्यप्रति चिनियाँ चासो बढेपछि प्रधानमन्त्री दाहालको निर्देशनमा परराष्ट्र मन्त्रालयले थप प्रस्टीकरण दिएको हो ।

‘बुँदा ११ मा उल्लेख भएझैं साझा चासोका प्रमुख अन्तर्राष्ट्रिय विषयहरूलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरूमा विभिन्न मुलुकहरूका बीच सहकार्य हुने विषय अन्तर्राष्ट्रिय रूपमा प्रचलित परम्परा हो । अन्नपूर्णपाेष्ट

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्