राजधानीमा बम बिष्फोट, दुई पक्राउ


 


काठमाडौं, असोज ४

राजधानीको बौद्ध क्षेत्रमा रहेका दुई विद्यालयको ढोकामा आज बिहान बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो ।

सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको  उनले जानकारी दिए । यसैगरी बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको थियो ।

ती वस्तु बम नभएको पुष्टि भएको छ । बम र शङ्कास्पद वस्तु राखिएका स्थानमा योंग कम्युनिस्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएका छन् । विष्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्