बाबुआमा नेपालमा पर्खंदै, म छोरी कुवेतमा तड्पिँदै



उर्मिला राई – १० कक्षामा पढ्दै गर्दा साथीको लहलहैमा लागेर खोटाङकै माक्पा गाविसमा बिहे गरें ।Urmila Rai कलिलै उमेरमा गरेको विहे लामो समय टिक्न सकेन । त्यसपछि माइतमा नै आएर बसें । माइतबाटै प्लस टु पनि सकें । नतिजा आउन लामै समय लाग्ने भएकाले काठमाडौं घुम्न गएँ ।

त्यहीबेला मामाकी छोरी तीर्थ राईले कुवेत जाउँ काम र दाम दुवै राम्रो छ भनेर फकाउनुभयो  । उहाँसँगै शिव श्रेष्ठले पनि भनेपछि होला त नि भनेर म उनीहरुकै विश्वासमा परेर भारतको बाटो हुँदै सन् २००९ को मार्चतिर कुवेत पुगेकी हुँ । कुवेत पुगेपछिको सुरुको दुई महिना राम्रो भएको थियो । साहु साहुनी राम्रै हुनुहुन्थ्यो । तर खै के भयो कुन्नी दुई महिना पछाडी नै साहुले त्यहाँको मेनपावर एजेन्सीमा लगेर छोडिदियो । त्यसपछि सुरु भयो मेरो दुखःका दिनहरु  ।

जब दोस्रो घरमा गएँ, त्यहाँको साहु साहुनी अति नै खराब रहेछन । केटाकेटी पनि धेरै थिए । मैले घर छोड्न खोजें, तर मिलेन । मलाई नेपाल जाने टिकट देउ पनि भनें ।  तर एक वर्षमा मात्रै दिन्छु काम गर भन्यो ।

अर्को घर जान खोज्दा एक लाख रुपैयाँ माग्यो । त्यसपछि त मलाई सुन र पैसा चोरेको आरोप लगाएर जेल हाल्यो । जेल परेका बेला पहिलेकै साहु देउताजस्तो बन्यो र मलाई जेलबाट छुटाएर घर लग्यो । उनीहरुले नै मलाई साउदी लान खोजे । तर  बोर्डरमा पुर्‍याएपछि खै के कागज मिलेन र हो मलाई फेरि कुवेत नै फर्काइयो ।

त्यसपछि म कुवेत पुगेपछिको तेस्रो घरमा पुगें । यसअघि मलाई लगाइएको चोरीको मुद्दा छँदै थियो । मैले त्यहाँ पनि झण्डै अढाइ वर्ष काम गरें । तर न तलव पाएँ न त घर फर्किने टिकट नै । काम दिए पनि खाना र तलव नपाएपछि अहिले म झण्डै  साढे तीन वर्षदेखि गैरकानुनी रुपमा काम गरिरहेको छु ।

दुतावासका कर्मचारीले भने हामीलाई सोधेर आएकी थियौ र ?  घर जानलाई कसलाई मन लाग्दैन र ? घर जानका लागि आवश्यक पर्ने राहदानी मसँग नभएपछि नेपाली दुतावासमा फोन गर्दा के तिमी नेपालबाट आउँदा मलाई सोधेर आएको थियौ र ? भन्ने जवाफ पाएँ । आफ्नो देशका प्रतिनिधी भएर त यस्तो रुखो व्यवहार गर्छन भने विदेशीले त के राम्रो गरोस भन्ने लाग्यो । अहिले मनले आफैंलाई कहिलेकाहीँ सोध्छ यो परदेशमा हाम्रो साहारा को त ?

आशाको त्यान्द्रो बाँकी नै थियो, जब साथीहरुले आफ्नै जिल्लाको संस्था खोटाङ सेवा समाजले पो सहयोग गर्न सक्छ कि जानुस न भन्नुभयो । सुरुमा तपाईको काम हुन्छ भन्नुभएको म पनि उहाँहरुका धेरै बैठकमा बसे पनि  । तर पछि उहाँहरुले पनि गर्न सक्दैनौ भन्नुभयो ।

त्यसपछि म आफैं कुवेतको प्रहरी सामु गए । प्रहरीले तिमिलाई चोरीको मुद्दा छ, त्यसै मुद्दा लगाउने व्यक्ति नै नभएसम्म पठाउन मिल्दैन भनेको छ  । मलाई अझै अप्ठेरो परेको छ । किनकी दुई महिना मात्रै काम गरेको साहुको बारेमा मलाई धेरै कुरा थाहा नै छैन । न त ठाउँकै बारेमा केही जानकारी छ ।

त्यसैले अहिले मेरो मनमा एउटै कुरा खेलिरहेको छ अब कसरी घर फर्कौं ? घरमा फोन गर्‍यो बुवाआमा सोध्नुहुन्छ, घर कहिले आउँछेस छोरी ? बुबा आमाको प्रश्नको मसँग कुनै जवाफ छैन । अब चाँडै आउँछु भन्नु र भगवानसँग प्रार्थना गर्नु बाहेक मसँग अरु विकल्प छैन ।

प्रस्तुति : रमेश राई / खोटाङ

उज्यालो अनलाइनबाट

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News