विराटनगरका ६ जना कोरोना संक्रमित आज डिस्चार्ज हुँदै


 



विराटनगर, वैशाख २४
विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितलाई आज डिस्चार्ज गरिदैछ । ६ जनाको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले बुधबार डिस्चार्ज गर्ने तयारी रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनीहरु सबै भारतीय हुन् ।

उदयपुरको एक मस्जिदमा बसिरहेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ र ६ गते विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना गरिएको थियो । एकै साथ अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन् ।

डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय हुन् । हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई डिस्चार्जपछि तत्काल विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने मन्त्री घिमिरेले बताए।

मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था रहेकोले उनीहरुलाई मस्जिदमै राखिने तयारी भएको हो । कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार सबैको कोरोना पुनः परीक्षण गरिएकोमा ६ जनाको नेगेटिभ रिपोर्ट आएको हो।

विराटनगरको कोरोना अस्पतालमा ३१ जना स्रक्रमित उपचाररत् छन्। ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन्।

प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्