परराष्ट्र मन्त्रीको बचाउमा उत्रेका शंकर पोखरेलसँग भीम रावलको जुहारी: आफू मनपरी गर्ने र अरुलाई अर्तीउपदेश नदिन चेतावनी


 


काठमाडौं, २८ वैशाख ।

संसदको अन्तर्राष्ट्रिय समितिमा आइतवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा नेता भीम रावलबीच जुहारी चल्यो। रावलले भारतको सडक निर्माणको विरोध गर्दा कसैको हस्ताक्षर नभएको विज्ञप्ति किन निकालेको, विज्ञप्तिमा हस्ताक्षर गर्न डराएको हो कि भनी प्रश्न उठाए। उनले कुटनीतिमा ठट्टा नगर्न परराष्ट्र मन्त्रीलाई सुझाव दिए। जवाफमा परराष्ट्र मन्त्रीले पनि हस्ताक्षर विनै विज्ञप्ति निकाल्ने प्रचलन रहेको जिकिर गरे। यसरी दुई नेताले संसदीय समितिमा आआफ्नै तर्क गरिरहेका बेला प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि यो बहसमा मिसिएका छन्।

उनले परराष्ट्रमन्त्रीको बचाउ गर्दै भीम रावलको आलोचना गरेका छन्। उनले सरकारको आलोचना भन्दा पनि सहयोग गर्नुपर्ने भनेर रावललाई सिकाउन खोजेका छन्।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विगतमा गृह,रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूति हुने थियो। राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ। संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ। आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ। सीमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो।’  

पोखरेलको यस्तो अभिव्यक्तिपछि भीम रावलले पनि अर्ती उपदेश नदिन चेतावनी दिएका छन्।

सरकारमा रहेका र प्रमको निकट ठानिने साथीहरूले आत्मनिरीक्षण गर्दै ‘नेपालको संविधान, नेकपाको सिद्धान्त र नीति विपरितका कामबारे समयमै औल्याउनु सरकारलाई रचनात्मक सहयोग हो’ भन्नेतर्फ पनि ध्यान दिनु उचित हुने रावलको भनाई छ।

स्थायी कमिटी बोलाउन, गुटबन्दी अन्त्य गर्न आग्रह गर्दै रावलले यसो नगरी आफ्ना गल्ती कमजोरी छोप्न अरुलाई दोष दिने, आफू मनपरी गर्ने र अरुलाई अर्ती उपदेश दिने कुराको कुनै औचित्य नहुनेतर्फ सचेत गराएका छन्।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्