ल्याम्पपोष्ट र भगेराको गीत



कविता

giriraj
गिरिराज बाँस्कोटा 

सुनाउन चाहेथे, वेसरी रुन मन छ
तिम्रो अनुहार देखेपछि चुपचाप फर्किए
सडक ओर्लिदा झपक्क रातले चुमेको थियो
तेहिनेरको विजुली पोलमा आँखा लगाएर सपना देखिदिए
आशुका थोपाहरु यसै चाउरीएको गालामा अडेछन्
विहानी नभेटेका रातहरुमा

पहाड तुनेका कथाहरु
जीवन लेखिएका हरफहरु
वितृष्णाको खाडलमा थिचिदिएपछि
जीवनवादि आर्दशका चिप्ला स्वरहरु
कतै दुर तिर गायव भएको हुन पर्छ
यहि वेला,असुभको संकेत गर्छन् जान्नेहरु

कुमारी सपना छातिभरी छपाएर
एउटा माग्ने शिरिष किनारमा जीवनको भिख मागिरहेछ
कतै दुरवाट आएको मलिन संगीत
एउटा विद्रोही चित्र अघि टंक रोकिन्छ
मधुरो एउटा संकेत दृष्यको व्यापारमा रातभरी जागा रहन्छ
दिनभरी माग्नेले शासन गर्छ ,रातभरी अध्यारोले व्यापार गर्छ
यो कुनै एकदेशभित्र पर्ने सडकको कथा हो ।

खासमा
जहाँवाट चुहिन्थे विद्रोहका थोपाहरु
त्यहि नजिक मेरो घर छ
उज्जेलीएका वस्तिहरु अघि
भोग ,रोग र शोखसँगै
कञ्चनताको प्रतिमुर्ति जसोतसो बाँच्ने प्र्रयाश गर्छ
आशुमा तप्कीएका मुस्कानका स्वादहरु
उपारी गाँउमा खसेका जुनतारा हेर्दै
नवितम विचारको उद्घोष गर्दै छ समयचेतनाको लागि
साझ र रात भने झिप झिम बत्तिको स्वर सुनाउँछन
तारसँगै झुण्डिएका भगेराहरु किन जिस्काउछन् आजभोली
सहानुभुक्तिका गहिराइ र आँखावरीवरीका छाँयालाई

पर्खिएर वसे होलान
कोदोँवारी देखि लाम्पाते सम्मका रहरहरु
धानवारी देखि अलैचीवगान सम्मका पर्खाइहरु
सम्भावना तोडिदैँ गएपछि
एउटा सानो हिलाम्मे सडकमा भाग्य रोप्दैँछन्
पासपोर्टमा नानीहरुको भविश्य र चिल्लो घर सजाउदैँछन्
यहि विचवाट विद्रोहका श्रृखला पटक –पटक उग्रिन्छन्
र अस्ताउछन् आकाशचुली डाँडाहरुमा

डबकामा हुकांर उठाएर
उकाली ओराली या चौतारीका कुरा
चियावारी वा गडतिरका गीतहरु
कतिदिन बचाईदिन पर्ने हो ?
यस्तै यस्तै कथानेर
अनगिन्ति सुसेलीहरु
काठमाण्डौँलाई धिर्काछन्
र आफ्नै भाग्यलाई पनि

विदेशवाट आएको पैसा थापेर
अन्तरेकी श्रीमती अर्थात पाँच जनाकी आमा
पोइलगाई पारी गाँउमा
भन्छन् ,विश्वासमा संसार अडिएको हुन्छ
अन्तरेको विश्वास भताभुङ भयो
गोजि च्यातिएर धुजाँ धुजाँ भयो
भविष्यहरु अन्धकारमस्त रातमा चोवलिए
र उसको प्रेम
माया र मौसमको कथाजस्तो वन्यो
यहाँ अन्तरेहरु र अरु अन्तरेहरु थङथिलो बनेर
भाग्यलाई सरापिरहेछन् पल पल
ल्यापोष्टमुनी उभिएर यस्तै कथा खेलाईरहन्छु
भगेराहरु तुदुङ्ग्रेहरुमा गीत गाएको धेरै भयो
मति विग्रिएको मान्छे या मति बिगारीदिएको मान्छे
यस्तै यस्तै ।
कुञ्जिदैँछन् वास्केटहरु
फाटिराछु ,आझै फाट्न तयार भए
देउ अन्जुलीभरी काडाउपहार
दिलभर खातलगाएर सजाउला
मुस्कानको भाषा
सपनाको चौवारी हसाएयो की ?
कसैले चौतारीमा यसो भनिरहयो
माथि कुम्भकर्ण डडेकोसगर च्याप्न खोजीरहेथ्यो
परिवर्तनका नाराहरु भिक्तामा सितले लपक्क पर्दै गर्या देखे
स्वाभिमानी अत्तर घसेकाकाहरु
गोर्खालीको गीत गाउँदै गर्दा
नमिलेको भाषा मैले रुचाईन
बरु उकाली ओराली
चौतारी र खेतीकिसानीको दृष्यनै प्रिय लाग्छ

छोडीदिउला रंगीतामा साचेको जवानी
त्यागिदिउला सयताको धिपधिप
बरु जोडौला सलेदो वत्ति
राखुला ढुङ्गा उक्किदैँ गएको चौतारीमा
अनि वोलाउला भगेराका बच्चाबच्चीहरुलाई
सहर त ठुलाघरहरु मात्र होइन
सुविधामात्र पनि होईन
धेरैकुरा चिप्लिने सडक होईन
चिन्तन, चेतना र भावनापो हुन पर्छ
मैले छुदाँ पत्थर हुने, उसले छुदाँ फूल हुने
यस्तो पनि हुन्छ काहि ?

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News