लिपुलेकमा भारतले हेलिकोप्टरमार्फत बढायो निगरानी,नेपाली आकाशमा उडेको उड्यै


 


काठमाडौं, बैशाख २९
भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै अहिले नेपालमा चौतर्फी रुपमा बिरोध भइरहेको छ।

शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका थिए।

त्यसपछि नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँदा भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति समेत बढाएको छ। अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले सैनिक हेलिकप्टरबाट त्यहाँ ओहोरदोहोर बढाएको छ।

सोमबारमात्रै चारपटक भारतीय सेनाको हेलिकोप्टरले ओहोरदोहोर गरेको दार्चुलाका स्थानीय बताउँछन्। सरकारले कालापानी क्षेत्र नजिकै पर्ने दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गर्ने र तत्कालै सुरक्षाकर्मी पठाउने तयारी गरिरहेको छ।

यहीँ बुधबार सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली छाङरु पठाउने सरकारी तयारी छ। नेपालबाट सुरक्षाकर्मी पठाउने, कूटनीतिक वार्ता गर्ने तयारी भइरहँदा भारतले कालापानीमा सेनाका हेलिकोप्टरको उडानलाई तीव्र पारेको छ।

जिल्ला प्रशासन कार्यालयले पनि कालापानीतर्फ भारतीय सेनाका हेलिकोप्टर उडिरहेको पुष्टि गरेको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले दैनिक ५/६ पटक भारतीय हेलिकोप्टर कालापानीतर्फ गइरहेको बताए। ‘मेसिन, सामान ढुवानी गर्न हेलिकोप्टर रेगुलर गइरहेका छन्। सेना राखेको छ। बन्दोबस्तीका सामान लग्छ होला,‘ उनले भने।

लिपुलेक र लिम्पियाधुरामा नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सम्पूर्ण राष्ट्र आक्रोसित छ । सरकारले औपचारिक रुपमा बिरोध जनाइसकेको छ । सत्तारुढ नेकपाका दुवै अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी नेपाली भूमिमाथिको अतिक्रमणको बिरोध गरिसकेका छन् । सरकारले गर्ने कूटनीतिक धर्म यही हो । विगतका सरकारभन्दा नेकपाको सरकारले भारतीय हस्तक्षेपको औपचारिक बिरोध गर्ने साहस गरेको छ ।

आजै मात्र सरकारले लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको छ । विभिन्न दल मिडियामा प्रचारबाजी गरिरहेका बेला सरकारले भने नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर ‘कुटनीतिक नोट’ दिएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्