मन्त्रिपरिषदमा कड्किए प्रधानमन्त्री: कालापानी-लिपुलेकमा भारतले धेरै निहुँ खोज्यो, अब प्रमाणले लड्छु


 


काठमाडौं, वैशाख ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी र लिपुलेकमा भारतले धेरै निहुँ खोजेको भन्दै अब प्रमाणले लड्ने उद्घोष गरेका छन्।

मंगलवारको मन्त्रिपरिषद बैठकमा सीमा समस्या समाधानका लागि पटकपटक कुरा उठाउँदा पनि भारतको नियत ठिक नदेखिएको भन्दै कड्किएका प्रधानमन्त्री ओलीले प्रमाण र सम्वादबाटै भारतसँग भूमि फिर्ताका लागि लडिने बताएका हुन्।

बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले पछिल्लो पटक मानसरोवर जाने सडकको ट्रयाक खोलेकोबारे ब्रिफिङ गरेका थिए।

ब्रिफिङपछि बोलेका प्रधानमन्त्री ओलीले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए। कालापानी क्षेत्रमा सीमाको समस्या पुरानो भएको भन्दै त्यसलाई तथ्य प्रमाणका आधारमा सुल्झाएर छाड्ने ओलीको भनाई थियो।

सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भएपनि भारतको नियत ठिक नभएको भन्दै उनले असन्तुष्टि पनि जनाएका थिए। हिजो मात्र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले (हाल महाराष्ट्रका गभर्नर) ईपीजीका तत्कालीन भारतीय संयोजक भगतसिंह कोश्यारीसँग कुरा गरेको तर कोश्यारीले नमिल्ने कुराकानी गरेको भन्दै ओलीले भारतको रवैयाप्रति बैठकमै आक्रोशित बनेका थिए।

सीमा समस्याको कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिँदै ओलीले हाललाई कूटनीतिक वार्ताबाहेक सीमा विवाद समाधान गर्ने अर्को विकल्प नरहेको बताए। सीमामा भारतले बलमिच्याइँ गरिरहेको ओलीको भनाई थियो।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्