फिफा वरीयतामा नेपाल दुई स्थान तल


 


काठमाडौं जेठ २२

नेपाल फिफा वरीयतामा दुई स्थान तल झर्दै १ सय ८३ औं स्थानमा पुगेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जुन महिनालाई सार्वजनिक गरेको वरीयतामा नेपाल दक्षिण मुलुकमा पुछारबाट दोस्रोमा छ। नेपालभन्दा पछि श्रीलंका (१ सय ८६ औं) छ।

नेपालले गत महिना कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्री खेल खेलेको छैन। पछिल्लो पटक नेपालले घरेलु मैदानमा भारतसँग विश्वकप छनोट खेलेको थियो। त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो। विश्वकप छनोटकै पहिलो खेलमा नेपाल भारतीय मैदानमा २–० ले पराजित भएको थियो। भारत १ सय ४१ औं वरीयतासाथ दक्षिण एसियाको शीर्ष स्थानमा छ।

विश्वकप छनोटको पहिलो चरण पार गरेको भुटानले वरीयतामा ठूलो छलाङ मारेको थियो। बिहीबार वरीयतामा भुटान ४ स्थान माथि उक्लँदै १ सय ५९औं स्थानमा छ। बंगलादेश १६६ औं, पाकिस्तान १७०औं र माल्दिभ्स १७८औं स्थानमा छन्। माल्दिभ्स ३८ स्थान तल झरेको हो।

अर्जेन्टिनालाई पछि पार्दै बेल्जियम फिफा वरीयताको दोस्रो स्थानमा उक्लेको छ। बेल्जियमको यो उच्च वरीयता हो। विश्वकप विजेता जर्मनी शीर्षमा यथावत रहँदा अर्जेन्टिना तेस्रोमा झरेको छ। कोलम्बिया चौथो र ब्राजिल पाँचौं स्थानमा छन्। फ्रान्स शीर्ष १० भित्र पर्न सफल हुँदा इङ्ल्यान्ड १५औं स्थानमा झरेको छ। छैटौंदेखि दसौंसम्म क्रमशः नेदरल्यान्ड्स, पोर्चुगल, उरुग्वे, फ्रान्स र स्पेन छन्।

प्रकाशित मिति: २२ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्