आइसोलेसनमा बस्नु पर्ने संक्रमित क्रिकेट प्रतियोगिताको मज्जा लिँदै



महोत्तरी, असार ९
कोरोना संक्रमितहरु आइसोलेसनमा बस्नु पर्ने हो। क्रिकेट प्रतियोगिता हेर्न ! अचम्म लाग्यो। मन झस्कियो। तिनै व्यक्तिलाई मैले सोधें, ‘क्रिकेट टुर्नामेन्ट कहाँ भइरहेको छ ? ’

उनले मलाई क्वारेन्टाइनको गेटबाट बाहिर लगे। खेततिर देखाउँदै भने, ‘ऊ पश्चिमतिर हेर्नुस्। धेरै भिड छ नि। हो त्यहीं छन् क्वारेन्टानमा बसेका हाम्रा साथीभाइहरु। क्रिकेट म्याच हेर्दैछन्।’

यस स्कुलको क्वारेन्टाइनमा बस्दैं आएका ४५ मध्ये २८ जना कोरोना संक्रमित छन्। तिनै संक्रमितहरूसमेत गाउँलेको भिडमा पसेर खेल हेरेर मज्जा लिइरहेका भेटिए। गाउँभरी कोरोनाको महामारी चलिरहँदा सम्सीका युवाहरु बल र ब्याटसंगै व्यस्त थिए। कोरोना संक्रमितहरु गाउँलेसंगै बसेर हुटिङ गरिरहेका थिए।

क्वारेन्टाइनबाट करिब ५ सय मिटर पश्चिमको खेतमा क्रिकेट खेल जारी थियो। खेल मैदानसम्म पुग्न एक मात्र आलीको बाटो थियो। म त्यही आलीको बाटो अघि बढें। पछि–पछि एक युवक मलाई बोलाउँदै आइरहेका थिए। पछि फर्किंदै म आलीमै रोकिएँ।

भेस्ट–पाइन्ट र मुखमा माक्स लगाएका ती युवकले आफूलाई चिनाए, ‘मेरो नाम जुनइब नदाफ हो। म क्वारेन्टाइनको गार्ड हुँ।’

सँगै उनले मलाई हिन्दीमा अर्को प्रश्न सोंधे, ‘आप कोन हैं ? ’

मैले भने, ‘मै पत्रकार हुँ।’

म खेल मैदानतिर फटाफट अघि बढें। ती युवक पछ्याउन थाले। कोरोना संक्रमितसहित क्वारेन्टानमा बसेका ४० जना कसरी बाहिर निस्किएर भीडमा क्रिकेट खेल हेर्न पुग्ने भन्ने प्रश्न मेरो मनमा खेलिरहेको थियो। उत्तरको खोजीमा म खेल मैदानतिर लम्किँदै थिएँ।

नजिक पुगेपछि ती युवकले ठूलो स्वरमा कराए, ‘भागो–भागो, पतरकार आयो।’

ठूलो साउन्डसहितको माइकको आवाजले गावैं खिचेको थियो। खेलमैदानबाट क्रिकेट कमेन्ट्री गर्दै गरेका युवक जोरजोरले माइकमा कराउँदै भन्दै थिए, ‘अभि–अभि एक सान्दार छक्के लगाए है बलेबाँज नै।’

ती युवकले जति जोडले कराए पनि भीडका कसैले सुनेनन्। सबै क्रिकेट र त्यसको माइकिङ प्रस्तुतिमा मग्न थिए। केही नलागेपछि गार्ड युवकले क्रिकेट कमेन्ट्री गर्ने व्यक्तिलाई फोन गरेर भने, ‘अरे क्वारेन्टाइनमे रहने बालोको बोल दे, पतरकार आयाँ है। फोटो खिंच रहाँ है। जलसे जलस उनही सबको क्वारेन्टाइने बोलदे जानेके लिए।’

म आलीको बाटो छिटो–छिटो क्यामराको लेन्स खेल मैदानतिर तेस्र्याउँदै अघि बढिरहें। मैदान नजिकै पुग्न लाग्दा क्रिकेटको कमेन्ट्री गरिरहेका युवाले भने, ‘क्वारेन्टाइनमे रहने बालो सभि फिल्डसे चलिजाओ, पत्रकार यहिपर आचुका है।’

माइकबाट जब पत्रकार आएको कुरा क्वारेन्टाइनमा बस्नेहरुले सुने, संक्रमितसहित क्वारेन्टाइनमा बस्ने सबै अर्को आलीको बाटो फर्किन थाले। ठीक त्यही बेला ८–१० जना नेपाली सैनिक नजिकै सडकमा गस्ती गर्दै आइपुगे।

लठ्ठी बोकेका सैनिक खेतको आली हुदैं दगुर्दै खेल मैदानतर्फ लागे। महामारीको जोखिम अत्यधिक रहेको सम्सीको त्यो भिड हटाउन सेनाको टोली जोसियो। खेतैखेत खेल मैदानतर्फ दगु¥यो।

महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित अजिजिया एकेडेमीमा बनाइएको क्वारेन्टाइन बिजोगसाथ बसेका सर्वसाधारण । तस्बिर : राजकरण महतो

सेनालाई देखेर खेलमैदानमा भएका खेलाडी, कोरोना संक्रमित सहितका दर्शकको भागाभाग मच्चियो। सेनाले लखेट्दैं गरेको अनि भिडबाट मान्छे भाग्दैं गरेको दृश्यले एक प्रकारको आन्दोलनकै झझल्को दिइरहेको थियो।

त्यो कैद गर्न मलाई हतारो थियो। आली हुदैं कोही साइकल, कोही मोटरसाइकलमा चढेर, कोही पैदलै खेलमैदानबाट गाउँतिर दु्रतगतिमा भाग्दै थिए। सेनाले लठ्ठी लिएर गाउँले लखेट्दैं गरेको दृश्य मेरा लागि नौलो थियो। ११ वर्ष पत्रकारिता गर्दा थुप्रै आन्दोलनको रिपोर्टिङ नजिकबाट गरेको थिएँ। आन्दोलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई लखेटेको, झडप भएको मात्र देखेको थिएँ। तर, सोमबार सम्सीमा कोरोनाको महामारीबीच भइरहेको क्रिकेट खेल बन्द गराउन रणभीम गण प्रकौलीको सैनिक टोली खटिएको थियो। क्वारेन्टाइनमा खटिनुपर्ने प्रहरी भने कहाँ थियो, देखिएन।

मलाई आनौठौ लागेको त्यो माहौलको फोटो के खिचेको थिएँ, संगै रहेका स्थानीय पत्रकार प्रेमबाबु यदुबन्सीलाई सेनाको टोलीले बोलाएर तँँतँ, मम गर्न थाल्यो।

‘हाम्रो फोटो किन खिचेको तैंले ? ’ एक सैनिकले उनलाई भने, ‘फोटो डिलिट गर्।’ म पनि उनकै नजिक थिएँ। ‘तँ यता आइज,’ ती सैनिकले मलाई पनि बोलाए।

खेलमैदानबाट सबै भागिसेका थिए। गाउँले घर पसे। क्वारेन्टाइनमा बस्नेहरू स्कुल छिरे। खेतको आलीमा सेनाको टोली र हामी दुई पत्रकार मात्रै थियौं। डराउँदै म सेनाको नजिक पुगें। उनले चोर औंला देखाउँदैं मलाई थर्काए, ‘तैंले हाम्रो किन फोटो खिचेको ? ’

‘म पत्रकार हुँ। कोरोना संक्रिमतिहरु खेल हेर्न आएको रिपोर्टिङ गर्न आएको छु। मैले तपाईंहरुको फोटो खिचेको छैन’, मैले भनें।

‘ल, ल… ठीकै छ। पत्रकार हुनुहुँदो रहेछ। माइन्ड नगर्नु होला। हामीले लखेटेकोे समाचार नलेखिदिनु होला’, उनीहरूले हामीलाई छाडिदिए।

हामी क्वारेन्टाइनतिर लाग्यौं। क्वारेन्टानमा बस्ने सबैको मन हतास थियो। हामीले तीन–तीन वटा मास्क लगाएका थियौं। भित्र भने कोरोना संक्रिमति र क्वारेन्टाइनमा बस्ने (संक्रमण पुष्टि नभएका) हरू संगै बसेका थिए।

त्यहाँ भेटिए २५ वर्षी नेमत शेख। उनले भने, ‘क्वारेन्टानमा बसेर मेरो पेट त भरिइरहेको छ, बालबच्चाको पेट कसले भर्छ ? ’ त्यही क्वारेन्टाइनमा रहेका अनुवारुल शेख भन्दै थिए, ‘केही सुविधा छैन। त्रिपाल ओछ्याएर एउटै कोठामा लस्करै ४०–४५ जना सुत्छौं।’

त्यहाँ बस्ने कोरोना संक्रमित र अन्यले प्रयोग गर्ने शौचालय एउटै। चपाकल एउटै। क्वारेन्टाइनको कम्पाउनडभित्र रहेको चपाकलमा गाउँलेहरु पनि पानी लिन÷खान आइपुग्छन्। स्थानीय राजेश यादवले भने, ‘दिनभरी क्वारेन्टाइन बस्ने कतिपय राती सुत्न घर गइरहेका छन्।’ राम्रो व्यवस्थापन नहुँदा कोरोना सार्ने कारखाना बन्दैछ क्वारेन्टाइन।

आइसोलेसन नहुँदा क्वारेन्टाइनमा कोरोना संक्रमित राख्नु परेको सम्सी गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्जयकुमार यादवले बताए। उनका अनुसार सम्सीका कोरोना संक्रमित २ सय ७३ मध्ये ३५ जनालाई पिपरा, जलेश्वरको आइसोलेसनमा भर्ना गरिएको छ। २ सय ३८ जना क्वारेन्टाइनमै छन्।

‘क्वारेन्टाइनमा रहेका संक्रमित र त्यहाँ बस्नेहरुलाई बाहिर ननिस्कन भन्छौं। तर, उनीहरुले हाम्रो कुरा सुन्दैनन्। जे मन लाग्छ, त्यही गर्छन्,’ स्वास्थ्य संयोजक यादवले भने, ‘तर, संक्रमितको स्वास्थ्य अवस्था ठीकठाक छ।’ उनीहरुलाई व्यवस्थान गर्न सकिएन भने अरुलाई कोरोना सर्ने खतरा बढ्दैं गएको उनले बताए।

सम्सीका स्थानीयहरुले कोरोना संक्रमितहरुसंग क्वारेन्टाइनमै गएर भेटघाट गर्छन्। संगै बसेर कुरा गर्ने गरेको पनि भेटिन्छ। ‘क्वारेन्टाइदेखि गाउँलेसम्मले कोरोना संक्रमण केही होइन ठान्छन्। यसले केही हुँदैंन भन्ने सोच छ उनीहरूको’, महोत्तरीका कोविड—१९ फोकल पर्सन गिरेन्द्र झाले भने। उनलाई लाग्छ, ‘संक्रमित र गाउँलेले कोरोनालाई ख्याल–ख्याल लिएका छन्।’ प्रदेश २ मै सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको गाउँ हो सम्सी।

सम्सी ६ का वडाध्यक्ष शेक उमेदले श्रोतसाधन नहुँदा कोरोना संक्रमितलाई व्यवस्थान गर्न समस्या रहेको बताए। ‘क्वारेन्टाइनमा बस्नेहरुसंगै कोरोना संक्रमित बसिरहेका छन्,’ उनले भने, ‘सकेको गरेकै छु, नसक्ने कसरी गरुँ ? ’

क्वारेन्टाइनमा सुरक्षाका लागि प्रहरी खटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। ‘क्वारेन्टाइनमा बसेकाहरु त बारिह ननिस्किनु पर्ने हो, त्यहाँ त प्रहरी खटाएका छौं’, उनले भने, ‘कसरी निस्किए, यसबारे बुझ्नेछु।’ सम्सी गाउँपालिकामा संक्रमितको संख्या ह्वातै बढेसंगै सय बेडको आइसोलेसन बनाउन लागिएको छ। ‘प्रदेश सरकारसंग आइसोलेसन बनाउन बेड माग गरेका छौं,’ उनले भने, ‘आइसोलेसन बनाउने ठाउँको छनौट गरिसकेका छौं।’ राजकरण महतो/अन्नपुर्ण पाेष्टबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News