वामदेवले असफल पारिदिए प्रचण्ड-नेपालको षडयन्त्रको तानाबाना, पत्नीसहित ओली पुगे भैँसेपाटी


 


काठमाडौं। आज विहान जति बेला प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री ओलीलाई हटाउनेगरी स्थायी कमिटी बैठको तयारी गर्दै थियो त्यतिखेरै नेकपा उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारे।

प्रतिनिधिसभाको अहिलेको कार्यकालसम्म प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने उनको प्रस्ताव थियो। एक्कासी आएको यस्तो प्रस्तावले दुबै समूह छक्क पर्‍यो। ओलीले राहत महसुस गरे भने प्रचण्ड र नेपालले धोका दिएको रुपमा बुझे।

वामदेवको एक्कासीको युटर्नले स्थायी समिति बैठकमा ओलीलाई हटाउने तयारी तुहियो। वामदेवकै साथले ओलीले पनि बैठक स्थगित गरिदिए। यद्यपि प्रचण्ड नेपालले आफ्नो समूहका स्थायी कमिटी सदस्य राखेर बैठक सञ्चालन गरे। तर कुनै निर्णय गर्न सकेन।

वामदेवको ६ बुँदे प्रस्तावले ओलीको कुर्सी जोगियो। गौतमले एकता महाधिवेशनसम्म पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी पूरै अवधि हुनेगरी प्रस्ताव गरेका हुन्। उनको दोस्रो प्रस्तावमा एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित पार्टी अध्यक्षमा पुष्पकमल दाहाल रहने उल्लेख छ। त्यसैगरी एकता महाधिवेशन सहमतिमा गर्ने प्रस्ताव गौतमको थियो।

गौतमको प्रस्तावले प्रफुल्लित प्रधानमन्त्री ओली आज साँझ पत्नीसहित वामदेवको निवास भैसीपाटी पुगे। वामदेवलाई मनाउन र धन्यवाद दिन त्यहाँ पुगेका थिए। बाहिर भन्न त पार्टी एकताबारे कुरा भएको भनिएको छ तर भित्रि भने ओली वामदेवलाई विश्वासमा लिएर अघि बढ्ने मनोकांक्षाका साथ गएका हुन्। ओलीले कति आश्वस्त पार्न सके त्यो त आगामी दिनमा देखिँदै जाला। तर हालको संकट भने वामदेवको मध्यमार्गी प्रस्तावले टरेको छ।

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्