वामदेवलाई ओलीको साथ छोड्न दबाब: वामदेवले भने: अब म साथ छोड्दिन, तपाईहरु जे गर्नुहुन्छ गर्नुस्


 


काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतम अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन्।

बुधवार भैसीपाटीस्थित निवासमा आफूलाई भेट्न आएका युवा नेताहरु रामकुमारी झाँक्री, ठाकुर गैरे, डा. दीपकप्रकाश भट्ट, रविन कोइराला, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायतसँगको भेटान वामदेवले अब आफू ओलीको साथ छाड्न नसक्ने जवाफ दिएका हुन्।

युवा नेताहरुले प्रधानमन्त्रीको सत्ता बचाउनेगरी ल्याएको ६ बुँदे प्रस्ताव फिर्ता लिन सुझाव दिएका थिए। जवाफमा वामदेवले आफू व्याक नहुने अडा राखे ।

गौतमले मंगलवार ६ बुँदे प्रस्ताव अघि सार्दै पाँच वर्षको पुरै कार्यकाल ओली प्रधानमन्त्री कायम रहने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा काम गर्ने, पार्टी सचिवालयको परामर्श र निर्णयअनुसार सरकारले महत्वपूर्ण निर्णय गर्नुपर्ने मध्यमार्गी बाटो अघि सारेका थिए। जसले ओलीमाथिको संकट टरेको छ।  

वामदेवले सहमतिका लागि अगाडि सारेको ६ बुँदे प्रस्तावले अहिलेको अन्तरविरोध समाधान नगर्ने भन्दै निकट नेताहरूले पछि हट्न सुझाब दिएका हुन्।

जवाफमा वामदेवले विभाजन रोक्न आफूले बाध्य भएर प्रस्ताव गरेको बताए। अहिलेको परिस्थितिमा पार्टी विभाजन रोक्नैपर्ने स्थिति आएकाले आफू बाध्य भएको उल्लेख गरेका थिए। प्रस्तावका विषयमा सचिवालय र स्थायी कमिटीमा छलफल हुने भन्दै उनले आफ्नो प्रस्ताव अहिलेको अवस्थामा उपयुक्त भएकाले फिर्ता नलिने जवाफ दिएको एक नेताले बताए।

यो जवाफसँगै वामदेव ओलीको कित्तामा उभिएको प्रष्ट भएको छ। वामदेवलाई भेट्न मंगलवार राति नै ओली उनको निवास भैसेपाटी पुगेका थिए।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्