भारतले निहुँ खोजिरहँदा चीनले दियो नेपाललाई बलियो साथ, दिल्लीमा खैलाबैला


 


काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा दावी गरेर नेपालसँग निहुँ खोजिरहेका बेला चीनले बलियो साथ देखाएको छ। सीमा विवादले नेपालसँग औपचारिक बोलचाल तथा वार्ता नै बन्द गरेको भारतका लागि नेपालमा चीनको सशक्त उपस्थिति भने टाउको दुखाई बनेको छ।

यसअघि नेपाललाई समेटेर दक्षिण एसियामा भारतले नेतृत्व लिँदै आएकोमा अब भने चीन अघि सरेको छ। नेपालसहित अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीबीच सोमबार चीनका विदेश मन्त्री वाङ यीले टेली कन्फ्रेन्समार्फत छलफल गरेका छन्। छलफलको आयोजना चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए।

छलफलमा चार देशका विदेशमन्त्रीले कोभिड-१९ विरुद्ध संयुक्त रूपमा लड्ने र आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले जानकारी दिएका छन्।

बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले विदेशमन्त्रीबीचको छलफलमा एक देशका नागरिकलाई अर्को देशमा प्रवेश दिन सीमा खुला गर्ने सहमति पनि भएको बताए। उनका अनुसार अब चीनले नेपालसहित पाकिस्तान र अफगानिस्तानका नागरिकलाई चीन प्रवेशमा फास्ट ट्रयाक र ग्रीन च्यानलको सुविधा उपलब्ध गराउने छ। निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गरिनेछ।

उनले चारै देश सूचना, सञ्चार, नीतिगत समन्वय र साझेदारीका कामलाई मजबुत बनाउने विषयमा सहमति भएको समेत बताए। साथै तीन देशहरूलाई स्वास्थ्य क्षेत्रमा सुधारका लागि चीनले सहयोग गर्नेछ।

प्रवक्ता वाङले चार देशले सीमा नियन्त्रण सूचना साझेदारी, वौद्धिक रक्षा र आपतकालीन प्रतिक्रियाका लागि मानक सञ्चालन प्रक्रिया (एसओपी) तय गर्ने जानकारी दिए। चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत आर्थिक वृद्धि, सामाजिक उत्थानका साथ  स्थायित्व, औद्योगिक तथा निर्यातलाई बढवा दिने उनले बताए।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्