सैनिक जवान कुटेको घटनामा क्याप्टेनमाथि जङ्गी अड्डाले थाल्यो छानबिन


 


काठमाडौं, असाेज ११
शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ । सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ ।

तीनजना क्याप्टेनले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न रहेको बताइएको छ । 

कंगोमा तैनाथ गणको जवान लाइनमा कुटपिट भएको भनिएको घटनाको छानविन प्रक्रिया शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । ‘कंगोस्थित गणमा कार्यरत जेष्ठ सेनानीको नेतृत्वमा छानविन प्रक्रिया शुरु भएको छ’ प्रवक्ता पौडेलले भने–‘घटनाको प्रकृति र तथ्य यकिन भएपछि थप प्रक्रिया अगाडि बढ्छ ।’ 

सामाजिक संजाल प्रयोगकर्ताले सेनाका हाकिमले जवान कुटेको भन्दै आलोचना गरेका छन् । सो गणमा लेफ्टिनेन्ट कर्णेलले कमाण्ड गर्छन् । युएन मिशनमा खटिएका सेनाका सदस्यहरुमा उच्च अनुशासन कायम राख्न नेपाली सेना प्रतिवद्ध रहेको सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्