अरनिको राजमार्गको एक लेन ध्वस्त


 


काभ्रे, असोज २०

संघीय राजधानीलाई मध्यपूर्वी पहाड र तातोपानी नाका हुँदै छिमेकी चीन जोड्ने अरनिको राजमार्गको तामाघाट–धुलिखेल खण्डको एउटा लेन ‘अधिक भार बोकेर आउने सवारी’ का कारण ध्वस्त बनेको छ।

करिब ६० बर्ष अघि बनेको अरनिको राजमार्गको यो खण्ड अधिक भार बोकेका सवारीको चाप र कमजोर भु–बनोटका कारण धसिदै गएकाले बेलैमा जगैदेखी नयाँ निर्माण गर्न सडक बिभागका अधिकारीहरुले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका छन्।

अरनिको राजमार्गको सुर्यबिनायकदेखि काभ्रेको दोलालघाटसम्मको खण्ड रेखदेख गर्दै आएको सडक डिभिजन कार्यालय भक्तपुरले प्रत्येक तीनदेखि चार बर्षको अन्तरालतमा धुलिखेल– तामाघाट खण्ड मर्मतमा मात्र १५ देखि २० करोड रुपैंयासम्म खर्चिदै आएको छ। डिभिजनले धुलिखेल तामाघाट सम्मको खण्ड १५ करोड रुपैंया खर्च गरेर २०७५ भदौमा ३ बर्ष लगाएर अस्फाल्ट कंक्रिट प्रविधिबाट ओभरले माथिल्लो तहमा पुरै कालोपत्रे थप्ने काम गरेको थियो।

तर उक्त कालोपत्रे समेत दबिएर मर्मतको दुई बर्ष नपुग्दै पाँचखालबाट धुलिखेल तर्फ जाने बायाँ तर्फको लेन ध्वस्त बनेको छ। तिनपिप्ले देखी माथिल्लो क्षेत्र तर्फ केराघारी हुँदै धुलिखेलसम्मकै भागमा बायाँ लेन दबिनुका साथै खाल्डै खाल्डा बनेको छ। बाँया बिग्रदै गएपछि अधिक भार बोकेर आउने सवारीले यो खण्डका कतिपय स्थानमा दाँया लेन च्यापेका कारण ठाउँ ठाउँमा पुरै सडक खाल्डैखाल्डा र अस्तव्यस्त बनेको छ। १५ किलोमिटरको खण्ड बिग्रेका कारण अस्तव्यस्त हुँदा सवारी जाम बढ्नुका साथै गाडीहरुका खर्च समेत बढेका छन्। कतिपय ठाउँमा दुर्घटना समेत बढेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्