हुनै छाड्यो कन्ट्याक्ट ट्रेसिङ


 


काठमाडौं, कार्तिक १७
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट संकलन गरेको स्वाब मापदण्डविपरीत भन्दै परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ मा निश्चित समूहको मात्रै सिफारिसका आधारमा निःशुल्क पीसीआर गर्ने घोषणा गरेपछि स्थानीय तहले संकलन गरेको स्वाबको परीक्षण हुन छाडेको हो ।

सरकारी प्रयोगशालामा परीक्षण नभएपछि केही स्थानीय तहले सम्बन्धित व्यक्तिसँग पैसा लिएर निजीमा पठाउन थालेका छन् । स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेका थिए । यो प्रयोगशालाले सरकारले वर्गीकरण गरेकाबाहेकको स्वाब लिन छाडेपछि अधिकांश स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ रोकिएको छ । ‘निश्चित समूहको त्यो पनि कागजी प्रक्रिया पूरा गरेर मात्रै पीसीआर हुने भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका ६ सय जनाभन्दा बढीको परीक्षण गर्नै सकेका छैनौं,’ ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले भने, ‘लक्षण नदेखिएकालाई घरमै बस्नू भनेको छु । लक्षण भएकालाई पनि स्वाब लिएर परीक्षण गर्न टेकु पठाउन सकेका छैनौं ।’ यसअघि नगरपालिकाले पाटन अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरेको थियो । शुल्क तिरेर पीसीआर गर्नै नसक्नेलाई नगरपालिकाले खर्चको बन्दोबस्त गर्ने योजना बनाएको उनले बताए । कन्ट्याक्ट ट्रेसिङमा परेकाको पनि पीसीआर नहुँदा संक्रमण बढ्ने चिन्ता नगरवासीमा रहेको उनले सुनाए । ‘हाम्रो नगरपालिकामा पैसा तिरेर पीसीआर गर्न नसक्ने कामदार धेरै छन् । उनीहरूका लागि खर्च व्यवस्था गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आइतबार १ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ, जुन देशभरिका संक्रमितमध्ये ५७ दशमलब ४३ प्रतिशत हो । काठमाडौं जिल्लामा मात्रै एक हजार ३ सय ६३ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ७ सयभन्दा बढीले पैसा तिरेर निजी प्रयोगशालाबाट पीसीआर गराएका छन् ।

स्वास्थ्य मन्त्रालयले विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा खटिने कर्मचारीको मात्रै निःशुल्क पीसीआर र उपचार हुने निर्णय गरेपछि त्यसको असर कन्ट्याक्ट ट्रेसिङमा परेको हो । उपत्यकामा संक्रमितको संख्या बढेपछि स्थानीय तहले स्वाब संकलन गर्ने भीटीएम खरिद गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न कर्मचारीलाई टोलटोलमा खटाउने गरेका थिए । प्रयोगशालाले नै स्वाब नल्याउन भनेपछि स्वाब संकलन हुन छाडेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन छुट्टै गाडी व्यवस्था गरेको थियो । ६ जनालाई तालिम दिएको थियो । प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा नगर प्रहरी र स्वास्थ्यकर्मीको टोलीले संक्रमितको टोलमा पुगेर स्वाब संकलन गर्ने गरेको थियो । सरकारको पछिल्लो निर्णय आएसँगै यो काम रोकिएको छ । ‘प्रयोगशालाले स्वाब नपठाउनु भनेकाले संकलन गर्नै छाड्यौं,’ सूर्यविनायकका मेयर वासुदेव थापाले भने, ‘अब नगरपालिकाकै खर्चमा गर्न सकिन्छ, सकिँदैन भनेर छलफल गरिरहेका छौं ।’ कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्