अमेरिकी चुनावः कसले मार्ला बाजी ?


 


न्यूयोर्क, कात्तिक १८ एजेन्सी

विश्वको शक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी उम्मेदवार जो बाइडनको बीचमा प्रतिस्पर्धा हुँदैछ ।

चार वर्षको कार्यकाल पूरा गरेका ट्रम्प अमेरिकालाई पुनः महान बनाउन आफूलाई जिताउनुपर्ने दाबी गरिरहेका छन् भने विपक्षी उम्मेदवार बाइडन ट्रम्प पछिल्लो चार वर्षमा गरेका कामले उनलाई थप चार वर्ष राष्ट्रपति दिन नसकिने बताउँदै आएका छन् ।

मंगलबारको निर्वाचनले उनीहरुमध्ये को सही हो भन्ने कुराको निर्क्योल गर्नेछ । जसका लागि यो निर्वाचनमा उठेका केही मुद्दाको आधारमा मतदाताहरुले आफ्नो आगामी नेता छनोट गर्नेछन् ।

यो निर्वाचनको क्रममा के–के मुद्दाहरु उठेका छन् त ? यो निर्वाचन प्रचारको क्रममा अमेरिकामा उठेका मुख्य मुद्दाहरु यहाँ उल्लेख गरिएको छ

अर्थतन्त्र

अमेरिकाको निर्वाचनमा यसअघि जस्तै यसपटक पनि अर्थतन्त्र मतदाताहरुको प्रमुख चासोको विषय बनेको छ । एक सर्वेक्षणका अनुसार अमेरिका मतदाताहरुमध्ये करिब ८० प्रतिशतले अर्थतन्त्रको नीतिको आधारमा मतदान गर्ने बताएका छन् । सर्वेक्षणको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प विपक्षी उम्मेदवार बाइडनको तुलनामा अर्थतन्त्रको मामिलामा अगाडि देखिएका छन् । सर्वेक्षणमा ४९ प्रतिशतले ट्रम्प आए अर्थतन्त्रमा सुधार हुन सक्ने अपेक्षा व्यक्त गरेका थिए भने बाइडनको पक्षमा केवल ४० प्रतिशत मानिसहरु देखिएका थिए । विशेषगरी मानिसहरुले रोजगारीको विषयमा ट्रम्प आए धेरै सुधार हुन सक्ने अपेक्षा व्यक्त गरेका थिए ।

स्वास्थ्य

अर्थतन्त्रपछि मतदाताको रोजाइमा परेको अर्को महत्वपूर्ण विषय स्वास्थ्य स्याहार हो । सर्वेक्षणमा सहभागी ६८ प्रतिशतले स्वास्थ्य स्याहार र ६२ प्रतिशतले कोरोना भाइरस ९कोभिड–१९० को महामारीको विषयलाई आधार मानेर आगामी निर्वाचनमा मतदान गर्ने बताएका थिए । स्वास्थ्य स्याहार र कोरोना महामारी दुवैको हकमा भने विपक्षी उम्मेदवार बाइडनलाई मानिसहरुले रुचाएका छन् । अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेसँगै ट्रम्प अहिले आलोचित बन्न पुगेका छन् । विपक्षी उम्मेदवारले पनि यसैलाई आधार बनाउँदै ट्रम्पमाथि प्रहार गर्दै आएका छन् ।

जातीय विभेद

अमेरिकामा पछिल्लो समय चर्चामा रहेको अर्को विषय जातीय विभेद हो । मिनोपोलिस सहरमा जर्ज फ्लोयड नामका व्यक्ति प्रहरीबाट मारिएसँगै अमेरिकामा यो कालाजातिका मानिसहरुमाथि हुने गरेको ज्यादती र दमनको विरुद्धमा आवाज उठ्दै आएको छ । फ्लोयडको हत्यापछि निस्किएको आन्दोलनको पक्षमा बाइडनले वकालत गरेका थिए भने ट्रम्पले आन्दोलनको क्रममा भएको लुटपाटको आलोचना गरेका थिए । त्यसैले धेरै मानिसहरुले काला र गोरा जातिबीचको विभेद बाइडन राष्ट्रपतिको रुपमा आए कम हुने विश्वास व्यक्त गरेका छन् ।

जलवायु परिवर्तन

जलवायु परिवर्तनको मुद्दालाई पनि केही मतदाताले मतदानको लागि आफ्नो आधार मान्ने बताएका छन् । जलवायु परिवर्तन न्यूनीकरणको लागि सन् २०१५ मा भएको सम्झौताबाट अलग हुने निर्णय ट्रम्प प्रशासनले गरेको थियो । त्यसैले जलवायु परिवर्तनका क्षेत्रमा अभियान चलाउनेहरुले ट्रम्पलाई कम रुचाउँछन् । ट्रम्प दोहोरिँदा अमेरिका उक्त जलवायु सम्झौतामा पुनः जोडिने र जलवायु परिवर्तन न्यूनीकरणको प्रयास गर्ने सम्भावना कम छ । बाइडनले भने आफू राष्ट्रपति बने अमेरिका यो सम्झौतामा पुनः जोडिने बताइसकेका छन् ।

आप्रवासीको मुद्दा

यसपटकको निर्वाचनमा आप्रवासीको मुद्दा पनि एक महत्वपूर्ण विषय बनेको छ । ट्रम्प आप्रवासीप्रति अनुदार नेताको रुपमा चिनिन्छन् । ट्रम्पको नीतिलाई राम्रो भन्नेहरुको संख्या पनि उल्लेख्य छ । त्यस्तै धेरैले बाइडन आए यो समस्या राम्रोसँग सुल्झिने विश्वास व्यक्त गरेका छन् ।

विदेश नीति

यो निर्वाचनको अर्को महत्वपूर्ण मुद्दा विदेश नीति हो । विदेश नीतिको मामिलामा भने ट्रम्प र बाइडनको बीचमा केही समानता देखिएको छ । दुवै नेताले यो निर्वाचनमा जित हात पारे चीनलाई लक्षित गरी कदम चाल्ने बताएका छन् । यद्यपि बाइडन ट्रम्पको तुलनामा यो मामिलामा लचिलो देखिएका छन् ।

अमेरिकाको निर्वाचनको विषयमा गरिएका धेरै सर्वेक्षणहरुको औसतलाई आधार मान्ने हो भने अहिलेसम्म विपक्षी उम्मेदवार बाइडन राष्ट्रपति ट्रम्पभन्दा अगाडि छन् । तर, पछिल्लो केही दिनमा भने ट्रम्पका समर्थकको संख्या पनि बढेको छ ।

यद्यपि मत सर्वेक्षणले निर्वाचनको बारेमा अनुमान लगाउन भने सकिँदैन । अमेरिकामा समग्र खसेको मतभन्दा पनि इलेक्टोरल भोट महत्वपूर्ण हुन्छ । सन् २०१६ मा भएको निर्वाचनमा पनि डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले ट्रम्पले भन्दा करिब ३० लाख बढी भोट ल्याएकी थिइन् । तर, इक्लेक्टोरल भोटमा उनी पछि परिन् । जसको कारण ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए ।

अमेरिकाका केही महत्वपूर्ण राज्यको नतिजाले को राष्ट्रपति बन्छ भन्ने कुराको निर्क्योल गर्छ ।

अमेरिकामा राष्ट्रपति बन्न २७० इक्लेक्टोरल भोट ल्याउनुपर्ने हुन्छ । यदि ट्रम्पले यसपटकको निर्वाचनमा पेन्सोवेनियामा जित हात पार्दै नर्थ क्यारोलिनाका साथै ओरजोना, जर्जिया र ओहायोमा आफ्नो नियन्त्रण कायम गर्न सकेको खण्डमा उनी सन् २०१६ मा जस्तै सहजै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सक्छन् ।

तर, यसपटकको लडाइँ त्यति सहज भने छैन । २९ इक्लेक्टोरल भोट रहेको फ्लोरिडा यसपटक ट्रम्पको लागि समस्या बन्न सक्ने बताइएको छ । यदि उनले फ्लोरिडामा हारे भने उनको लागि दोस्रोपटक राष्ट्रपति बन्नु निकै कठिन हुन्छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्