भारतीय सेनाध्यक्षलाई प्रधानसेनापतिको सन्देश : ‘नेपाली भूमि कसैविरुद्ध प्रयोग हुँदैन’


 


काठमाडौं, कार्तिक २३
प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो भूमि अरू कुनै मुलुकको स्वार्थपूर्तिका लागि प्रयोग हुन नदिने सन्देश भारतीय समकक्षी मनोज मुकुन्द नरवणेलाई दिएका छन्।
नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न ग्रहण गर्न आएका भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई प्रधानसेनापति थापाले आफ्नो मुलुकको अखण्डता र सार्वभौमिकता रक्षाका लागि कसैसँग सम्झौता नगर्ने सन्देश दिएका हुन्।

भारतीय सेनाध्यक्ष स्वयंले जेठ पहिलो साता चीनतर्फ संकेत गर्दै ‘नेपाल अर्काकै इसारामा चल्ने गरेको’ अभिव्यक्ति दिएका थिए। त्यसको चौतर्फी आलोचना भएपछि नरवणेले नेपालसम्बन्धी आफ्नो अभिव्यक्ति सच्याएका थिए। भारत, अमेरिकालगायत केही मुलुकले नेपाल चिनियाँ प्रभावमा पर्दै गएको भन्दै नकारात्मक टिप्पणी गरिरहेका बेला प्रधानसेनापतिले राष्ट्रियता र अखण्डतालाई केन्द्रमा राखेर भारतीय सेनाध्यक्ष नरवणेलाई गहिरो सन्देश दिएका हुन्।

उनले हरेक मुलुकको सार्वभौमिकता बराबर हुने र सोहीअनुसार एकअर्को मुलुकले व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरे। नेपाल र भारतको सार्वभौमिकता समान रहेकाले दुवै मुलुकले एकअर्को मुलुकको सार्वभौमिकताप्रति समान व्यवहार र सम्मान गर्नुपर्ने उनको भनाइ थियो। उनले दुवै राष्ट्रबीचको सिमानालाई नियमन गर्दा दुवै देशको सुरक्षा बलियो हुने पनि बताएका थिए।

प्रधानसेनापतिले भारतीय सेनाध्यक्ष नरवणेको सम्मानमा बिहीबार साँझ जंगीअड्डामा आयोजित रात्रिभोजमा यसरी छोटो तर अर्थपूर्ण मन्तव्य राखेका हुन्। नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध चिसिएका बेला प्रधानसेनापतिले राष्ट्रियता र सार्वभौमिकताबारे भारतीय सेनाध्यक्षलाई दिएको सन्देश अर्थपूर्ण रहेको रात्रिभोजमा सहभागी एक अवकाशप्राप्त उच्च सैनिक अधिकारीले बताए।

सोही दिन दिउँसो दुवै सेना प्रमुख सम्मिलित भारतीय र नेपाली सेनाको उच्चस्तरीय टोलीबीच जंगीअड्डामा द्विपक्षीय हित र सहकार्यबारे छलफल भएको थियो। सामूहिक छलफलपछि जंगीअड्डामै प्रधानसेनापति थापा र नरवणेबीच एकान्त (वान टु वान) वार्ता भएको थियो। उक्त वार्तामा नरवणेले नेपालमा बढ्दै गएको चिनियाँ उपस्थिति र प्रभावबारे चासो राखेको उच्च सैनिक स्रोतले जनाएको छ।

दुई मुलुकका सेना प्रमुखको एकान्त बैठकमा नेपाल–भारत सीमा विवाद, नेपालमा चिनियाँ उपस्थिति र सैनिक सहायताका विषयमा छलफल भएको फरक–फरक अनौपचारिक स्रोतहरूले पुष्टि गरेका छन्। आवश्यक परे सीमा विवाद समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्न दुवै सैनिक प्रमुख तयार देखिएको सैनिक उच्च स्रोतले बताएको छ।

नेपालमा चीनको प्रभाव बढेको भन्ने भारतीय सेनाध्यक्षको चासोप्रति प्रधानसेनापति थापाले आफ्नो भूमि अरू मुलुकका लागि प्रयोग हुन नदिने अर्थपूर्ण सन्देश दिएका हुन्। विभिन्न सञ्चारमाध्यममा चीनले नेपालको भूमि अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गर्दै चीन र नेपालबीच सीमा विवाद नरहेको सरकारी धारणा सार्वजनिक गरेको थियो। नरवणेले उक्त विषयमा सेनाको धारणा बुझ्न खोजेका थिए तर प्रधानसेनापति थापाले सरकारको आधिकारिक धारणा नै सेनाको धारणा भएको बताएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल र भारतबीच देखिएका सीमा विवाद संवादको माध्यमबाटै समाधान हुनेमा विश्वस्त रहेको सन्देश नरवणेलाई शुक्रबारको भेटमा दिएका थिए। जवाफमा नरवणेले नेपाल–भारत सम्बन्धलाई थप बलियो र राम्रो बनाउनुपर्ने सन्देश लिएर आफू भारत फर्कन लागेको बताएका थिए। नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका नरवणे शुक्रबार भारत फर्किएका थिए। अन्नपुर्ण पाेष्ट दैनिकबाट

प्रकाशित मिति: २३ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्