बैतडीमा इलाका प्रशासनकै सेवा तीन महिनादेखि बन्द


 



बैतडी, कात्तिक २७
बैतडीको पुर्चौडी नगरपालिकाको इलाका प्रशासन कार्यालयको सेवा तीन महिनादेखि बन्द रहेको छ । कर्मचारी अभाव हुँदा गएको भदौदेखि इलाका प्रशासनको सेवा बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

गत भदौमा निमित्त कार्यालय प्रमुखको सरुवा भएदेखि सम्पूर्ण सेवा रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनकाअनुसार अहिले त्यहाँ एक नायव सुब्बा र एक कार्यालय सहयोगी गरेर दुई जना मात्रै कर्मचारी छन् ।

उक्त कार्यालयमा एक शाखा अधिकृत, दुई नायव सुब्बा, एक सह–लेखापाल, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । जानकारीबिनै निमित्त प्रमुखको सरुवा गरेपछि सेवा दिन नसकिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

कर्मचारी नहुँदा सेवा लिन नसकिएको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए । नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीवासीले सदरमुकाम धाउनुपरेको छ । दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने वाध्यता भएको छ ।

इलाका प्रशासन कार्यालयमा गएको तीन महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । विसं २०७३ मा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटक–पटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकाले जिल्ला प्रशासनमा हाल नेपाली नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ ।

इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । साविकका एक दर्जन गाविसका झण्डै ६० हजार नागरिकका लागि २०७३ मा पुर्चौडीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो ।

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्