च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई


 


Barcelona-Win-Champion

काठमाडौं, जेठ २४

च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ ।

शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग, कपसँगै च्याम्पियन्स लिग जितेर ट्रेबलको कीर्तिमान बनाएको छ ।

बर्लिनको ओलम्पिक स्टेडियममा दक्षिण अमेरिकी तीन सुपरस्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज भएको बार्सिलोनाविरुद्ध युभेन्टसले बहादुरीपूर्ण प्रदर्शन गरेको छ ।

चौथो मिनेटमा नै राकिटिकले गोल गरेपछि बार्सिलोनाको सहज जितको अनुमान गरिएको थियो । तर, एक गोल आइसकेपछि पनि युभेन्टसले हार मानेन र पहिलो हाफमा बार्सिलोनाका तीन सुपर स्टारलाई गोल गर्ने मौका दिएनन् ।

दोस्रो हाफको ५५ औं मिनेटमा माराटाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । कार्लोस टेभेजको प्रहारमा बार्सिलोनाका गोलरक्षकले रोक्दा फर्किएर आएको बलमा उनले क्लोज रेन्जबाट गोल गरेका हुन् ।

तर, खेलको ६८ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । अन्तिम मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना विजयी भयो ।

प्रकाशित मिति: २४ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्