‘रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउनुपर्छ’


 


विराटनगर, पाैष २
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अवरुद्ध भएको रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउन पहल शुरु गरिने बताएका छन। रेलमार्ग निर्माण हुने भएपछि सो क्षेत्रमा नौ वर्षअघि जग्गाको मूल्याङ्कन गरी मुआब्जा वितरण शुरु गरिएको थियो तर मुआब्जा वितरण वैज्ञानिक नभएको भन्दै २२ घरपरिवारले मुआब्जा लिन मानेका छैनन् ।

मन्त्री घिमिरेले मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा सरोकारवालालाई निर्देशन दिए ।

उनले जनप्रतिनिधिविहीनको अवस्थामा स्थानीयवासीको आवाज नसुनिएका कारण रेलमार्गभित्र रहेका करिब २५ बिघा क्षेत्रफलको मुआब्जा रोकिएकोे बताए । मन्त्री घिमिरेले पुनःमूल्याङ्कनका लागि हुनेसम्म पहल गर्ने बताउँदै स्थानीयवासीको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने धारणा राखे । उनले भने, “परियोजना जति छिटो बन्छ, त्यति छिटो स्थानीयवासीले यसको लाभ लिनुका साथै आर्थिक लाभ आर्जन गर्न सक्नेछन् ।” उनले राजनीतिकरुपमा समस्या समाधानका लागि आफ्नो सक्रिय सहभागिता रहने प्रतिबद्धता व्यक्त गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जग्गाको पुनःमूल्याङ्कनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताउँदै गृहमन्त्रालयबाट आउने निर्णयानुसार गर्ने बताए । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकट्ठा आठ लाख रुपैयाँभन्दा कम पाउनेले स्थानीयवासीले मुआब्जा नलिएको जानकारी दिँदै पीडितका समस्या समाधान गरी विकास निर्माणको कार्य अघि बढाउन आग्रह गरे ।

स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्याङ्कन फरकफरक भएपछि मुआब्जा नलिएको भन्दै यससम्बन्धी विवाद छिटो मिलाउन आग्रह गरे । रेल विभागका साइड इञ्जिनीयर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानूनी प्रक्रिया पूरा भइसकेकाले अब चाँडै काम शुरु गर्ने बताए ।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०११ मा शुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८ दशमलव छ किलोमिटर रेलमार्गमध्ये पाँच किमीमा भारतमा पर्छ  भने नेपालतर्फ मोरङको बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किमी भूभाग पर्दछ । विराटनगर–रङ्गेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भए पनि यो मार्गमा काम ठप्प छ । मुआब्जा विवादका कारण रेलमार्गको तीन किमी क्षेत्रमा काम अवरुद्ध रहेको छ । रासस

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्