रक्सीकै मातमा बनेको थियो प्रहरीको हत्या गर्ने योजना


 



धनगढी, पौष १४
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडास्थित मोहना नदी हुँदै नेपाल-भारतमा व्यापक तस्करी हुने गर्छ । त्यो स्थान तस्करीको ट्रान्जिट प्वाइन्ट नै मानिन्छ । यस कार्यमा विशेषगरी नेपाल-भारतका सीमावर्ती गाउँका मानिसहरूको सङ्लग्नता हुनेगर्छ ।

गएको कार्तिक १ गते राति पनि जुगेडाकै ३४ वर्षीय सुकबहादुर भनिने अमर रानाको घरमा स्थानीय नौ जना युवाहरुको जमघट भयो । जमघट गर्नुको कारण थियो राति मटर (केराउ) भारतमा तस्करी गर्ने । मटर भारत तस्करी गर्न मोहना नदी कटाउनुपर्ने थियो, त्यसैका लागि उनले युवाहरुलाई बोलाएका थिए । त्यसैबीच बेलुका सबै मिलेर सुकबहादुरकै घरमा रक्सी पनि खाए, त्यसकै मातमा रमाए ।

रक्सी खाँदै गर्दा मटर नदी कटाउनुपर्ने समय पनि आयो । रक्सीले मातिएका युवाहरुले अवरोध भए प्रहरीलाईसमेत मारिदिने योजनासहित सुकबहादुरकै घरबाट घरेलु हातहतियार पनि संगै लिने योजना बनाए । रक्सीकै मातमा योजना बनाउने काम सुकबहादुरकै थियोे । रक्सीकै नसामा प्रहरी मार्ने योजनासहित गोरु गाढामा मटर लिएर मोहना नदी किनार पुग्दै गर्दा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको कमाण्डमा खटिएको दुई जनाको टोलीले उनीहरुलाई फेला पार्यो । करिब १५ क्वीन्टल मटर लोड गरेर ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको थियो । असई बिकको टोली पनि पूर्व सूचना पाएरनै त्यसलाई रोक्न त्यहाँ पुगेको प्रहरीको भनाई छ ।

मटर तस्करीमा प्रहरी बाधक बनेपछि घरेलु हातहतियारसहित पूर्वतयारीका साथ आएका तस्करहरुको समूह प्रहरीमाथि जाई लाग्यो । प्रहरीले मटर नियन्त्रणमा लिन खोजेपछि उनीहरुले प्रहरीमाथि धारिलो घरेलु हातहतियारले अन्धाधुन्ध प्रहार गरे । घरेलु हतियारसहित गएका नौं जनाको समूहकाबीच दुई जना प्रहरीको केही सीप चलेन । प्रहरीले आफूसंग रहेको पेस्तोल पनि खोल्न पाएनन् ।

मोहना नदी भन्दै करिब दुई पाँच सय मिटर यतै असई विक र उनीसंगै गएका प्रहरी जवान रामबहादुर साउँदको विभत्स हत्या भयो । हत्या गरिसकेपछि तस्करहरुले त्यहाँबाट घिसारेर नदीमा फाल्ने योजना बनाए । तर, नदीले बगाउने अवस्था नभएपछि नदी भित्रै गाडिदिने योजना पनि बन्यो । केही प्रहरीको शव गाड्ने काममा लागे भने केही मटर नदी पार गराएर भारतीय तस्करको जिम्मा लगाउने काममा लागे । तर, उनीहरुले प्रहरी जवानको मात्रै शव नदी भित्र गाडे भने असईको शव गाड्न ढिलो भयो । उनको शव त्यतिकै नदीमै फालेर हिँडे ।

राति डिउटीमा गएका प्रहरी विहानसम्म सम्पर्कमा नआएपछि प्रहरी चौकीले जिल्ला प्रहरीमा जानकारी गरायो । त्यसपछि जिल्ला प्रहरीबाट प्रहरी परिचालन भयो । खोजिका क्रममा असईको शव घोप्टो परेको अवस्थामा कार्तिक २ गते नदीमा भेटियो । तर प्रहरी जवानको शव भने भेटाउन मुस्किल भयो ।

तस्करीको ट्रान्जिट प्वाइन्टमा असई शव हत्या गरिएको अवस्थामा भेटिएपछि प्रहरीलाई तस्करले नै हत्या गरेको हुन सक्ने भनेर अनुमान लगाउन गाह्रो परेन । त्यतिकै बेला प्रहरीले शंकाको भरमा केही व्यक्तिलाई सोही ठाउँबाट नियन्त्रणमा लियो । त्यो बेला पक्राउ परेका आठ जनाले घटनामा संलग्नता भएको स्वीकार गरे । पक्राउ परेकामध्येबाटै एकजनालाई प्रहरी जवानको शव देखाउन दुई दिनपछि घटनास्थलमै लिइयो । प्रहरी जवानको शव नदीमा गाडिएको अवस्थाबाट निकालियो ।

उनीहरुकै आधारमा घटनाको मुख्य योजनाकार सुकबहादुर भएको पत्ता लाग्यो । उनी त्यहीबेलादेखि फरार अवस्थामा थिए । प्रहरीकाअनुसार उनी भारतमा लुकेर बसेका थिए । अहिले उनी भारतबाट नेपाल आइरहेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई आइतबार बेलुका ७ बजे फुलबारी क्षेत्रबाट पक्राउ गरेको हो ।

घटना भएको दुई महिनाको अथक प्रयारपछि कैलाली प्रहरी उनलाई पक्राउ गर्न सफल भएको छ । उनलाई सोमबारनै जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

यसअघि पक्राउ परेका आठ अहिले पुर्पक्षका लागि कारागारमा छन् । हत्या आरोपमा धनगढी उपमहानगरपालिका–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, गोपाल भन्ने रामगोपाल राना र रोहित रानालाई कारागार चलान गरिएको हो ।

उनीहरु विगतदेखि नै तस्करीमा संलग्न रहँदै आएको प्रहरीको अनुसन्धानबाट देखिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमसेर जबराले बताए । उनकाअनुसार सो क्षेत्र नेपाल भारत सामान तस्करी हुने ठाउँ हो । प्रहरी हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका धनगढीकै राजिप गुप्ता पनि पक्राउ परेका थिए । उनलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।

प्रहरीकाअनुसार घटना भएको दिन भारत तस्करी हुनलागेको मटर गुप्ताको हो । प्रहरीले घटनाबारे अझै अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्