वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशतले बढ्यो, कुन बैंककाे कति ?


 


काठमाडाैं, कार्तिक २

तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको हो ।

०७० असारमा १९ अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको खुद मुनाफा ०७३ मा ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो ८५ प्रतिशतभन्दा केही बढीको वृद्धि हो । उक्त वृद्धिलाई वार्षिक रुपमा रुपान्तरण गर्दा (कम्पाउन्ड एनुअल ग्रोथ रेट–सीएजीआर) २२ दशमलव ७ प्रतिशत हुन आउँछ ।

उक्त अवधिमा समग्र बैंकहरुको मुनाफा उल्लेख्य रुपले बढेको देखिएपनि सेयरधनीको सम्पत्तिमा प्रतिफल (रिर्टन अन इक्विटी( आरओई)मा सामान्य कमी आएको छ । ०७० असारमा वाणिज्य बैंकहरुको आरओई करिब साढे २३ प्रतिशत रहेकोमा ०७३ असारमा २२ दशलमव २९ प्रतिशत छ ।

बैंकमा १ सय रुपैयाँ लगानी गर्दा उक्त पुँजीले कमाउने दरलाई आरओई भनिन्छ । यसले बैंकमा भएको लगानीको कमाउने क्षमता देखाउँछ । पछिल्ला वर्षहरुमा बैंकहरुको पुँजीसँगै व्यवसाय विस्तार भएकाले मुनाफा पनि बढेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले बताए ।

‘बैंकहरुको व्यवसायीक विस्तारका आधारमा मुनाफा बढ्नु स्वभाविक हो,’ उनले भने । उक्त अवधिमा मर्जर तथा एक्विजिसनमार्फत केही बैंकहरुको व्यवयायीक विस्तार राम्रो भएको उनले जनाए ।

‘घरजग्गा कारोबारमा समस्या आएपछि विगतमा धेरै बैंकहरुको खराब कर्जा बढेको थियो,’ उनले भने, ‘०७० पनि घरजग्गा व्यवस्थायमा सुधार हुदै गएकाले विगतको खराब कर्जा असुली भएको छ । यो पनि मुनाफा वृद्धिको एउटा कारण हो ।’

२०७० सालमा संविधानसभाको चुवाब भएपछि मुलुक स्थीरता तिर उन्नुख भएको अनुमानका आधारमा कर्जा प्रवाह उच्च दरले बढकाले बैंकहरुको मुनाफा पनि बढेको नेपाल बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘उक्त अवधिमा बैंकहरुको निक्षेप, कर्जालगायत प्रमुख सूचकहरु उच्च दरले उकालो लागेका छन्,’ उनले भने ।

तीन वर्ष अघि ३० वटा वाणिज्य बैंक रहेकोमा गत असारसम्म त्यो संख्या २८ मा झरेको छ । ती मध्ये ११ वटा बैंकको मुनाफा वृद्धिदर औसत वृद्धिदर भन्दा कम छ । बाँकी बैंकहरुको वृद्धिदर औसतभन्दा धेरै छ । विगत ३ वर्षमा बैंकहरुको वृद्धिदर ३ दशलमव ९० प्रतिशत देखि साढे १४ सय प्रतिशतसम्मले बढेको तथ्यांकहरुले देखाएका छन् ।

उक्त अवधिमा प्रभु बैंकको मुनाफा वृद्धि सबैभन्दा उच्च दरले बढेको छ । तीन वर्ष अघि ऋणात्मक रहेको यो बैंकको खुद मुनाफा बढेर ०७३ असारमा १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा यो बैंकले आधा दर्जन बढी वित्तीय संस्थासँग मर्जर र एक्विजसन मार्फत प्रभु बैंक बनेको हो ।

अाजकाे कान्तिपुर दैनिक लेख्छ विगतमा किष्ट र ग्रान्डलगायत समस्यामा रहेका बैंकलाई सम्हालेपछि यो बैंकको खराब कर्जा बढेको थियो । तर, पछिल्ला ३ वर्षमा अघिकांश खराब कर्जा असुली भएको मुनाफा वृद्धिदर उच्च रहेको हो ।

०७० सालको तुलनामा ०७३ मा सानिमा, नेपाल, ग्लोवल आईएमई, एनएमबी, सनराईज माछापुच्छ्रे, मेगा र सेञ्चुरी बैंकको मुनाफा २ सय प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, सिभिल, कुमारी, सिटिजन्स्, प्राइम, सिद्धार्थ, हिमालयन र राष्ट्रिय वाणिज्य बैंकको मुनाफा वृद्धिदर एक सय प्रतिशतभन्दा बढी छ ।

तर, नबिल, कृषि, विकास बैंक, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बंगलादेश, एनआईसी एसिया, बैक अफ काठमान्डू (हालको बैक अफ काठमान्डू लम्बीनी), एनसीसी र जनता बैंकको मुनाफावृद्धिदर एक सय प्रतिशतभन्दा कम छ । ती मध्ये अधिकांशको मुनाफा वृद्धिदर वाणिज्य बैंकहरुको औसत वृद्धिदर (८५ प्रतिशत) भन्दा थारै छ ।

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्